पूर्वाधार विकासमा उन्नतिको करोडौँ सहयोग पाँचथरबाट फिर्ता हुँदै !

  • विपुल अधिकारी

पाँचथर, १ चैतः डेनमार्क सरकारले उन्नति समावेशी विकास कार्यक्रममार्फत पूर्वाधार विकासमा गरेको करोडौँ रुपैयाँ सहयोग फिर्ता हुने अवस्था सिर्जना भएको छ । ठेक्केदारहरुले समयमा काम नगर्दा ग्रामीण सडक सञ्जाल निर्माण तथा स्तरोन्नतिमा प्राप्त सहयोग फिर्ता हुने अवस्था सिर्जना भएको हो । 
सहयोग फिर्ता हुन नदिन जिल्ला समन्वय समिति पाँचथरसहित सरोकारवाला निकायले पहल चाही थालेका छन् । उन्नति समावेशी विकास कार्यक्रम अन्तर्गत कृषि उपजको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्न डेनमार्क सरकारले पाँचथर जिल्लाका ८ वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि ४८ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेट छुट्टयाएको थियो । यीमध्ये ७ योजना ठेक्का प्रक्रियाबाट र एउटा योजना उपभोक्ता समितिबाट निर्माण हुने क्रममा छन् । म्याद सकिन ३ महिनाभन्दा कम समय रहेका बेला योजनाहरुको कूल आर्थिक प्रगति २९ दशमलव ६३ प्रतिशत मात्रै छ । औषतमा योजनाहरु भौतिक प्रगति करिब ४० प्रतिशत रहेको छ । जेठभित्र ३६ करोड रुपैयाँ खर्च गरिसक्नु पर्नेमा फागुन अन्तिम सातासम्म जम्मा १० करोड ९ लाख रुपैयाँ मात्रै खर्च भएको छ । निर्माण कार्यमा ठूलै प्रगति भएपनि सबै रकम खर्च हुने अवस्था छैन ।
प्रमुख जिल्ला इन्जीनियर जयराम श्रेष्ठका अनुसार आगामी जुन २ (जेठ तेश्रो साता) सम्ममा निर्माण सम्पन्न गरी भुक्तानी लिन उन्नति समावेशी कार्यक्रमले पत्राचार गरेको छ । ग्रामीण सडक सञ्जाल कार्यक्रम अन्तर्गतका ४ सडकहरुको म्याद कुनै पनि हालतमा थप नगर्ने भनेर उन्नतिले पत्र पठाइसकेको छ । यस्तो अवस्थामा निर्माणाधीन केही सडकहरुको काम पूरा हुन कठीन छ ।
 यसरी निर्माण पूरा नभएका योजनाको करोडौँ रकम डेनमार्क सरकारमै फिर्ता जाने अवस्था आएको हो । उन्नति परियोजनाको कार्यक्रमसमेत यही आर्थिक वर्षबाट समाप्त हुन लागेको पत्रमा जनाइएको श्रेष्ठले बताए । कृषि उपजहरुको बजारीकरणमा सहयोग पु्र्याउने उद्देश्यका साथ पाँचथरमा काहुले–एकतीन–मेमेङ सडकका दुई खण्ड, सुम्निमा–रानीटार सडक, काहुले–चरिभञ्ज्याङ–ओयाम सडक, सप्तमी–सराङडाँडा सडक, खेवाथाम खोला सडक पूल, जोरपोखरी–काहुले सडक मर्मत र जोरपोखरी–काहुले सडक मर्मत निर्माणका क्रममा छन् । 
जिल्ला प्राविधिक कार्यालयका अनुसार काहुले–एकतीन–मेमेङ सडकको पहिलो खण्ड गौरी पार्वती मृतसञ्जिवनी जेभी काठमाडौंले ७ करोड ७६ लाख रुपैयाँमा ठेक्का लिएको छ । १४ दशमलव ७ किलोमिटरको सो सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ भने आर्थिक प्रगति ४२ प्रतिशत छ । आगामी वैशाख १७ गतेभित्र सम्पन्न गर्नुपर्ने सो योजना निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ता, अत्याधिक वर्षा, पहिरो र भूक्षयका कारण अघि बढ्न नसकेको ठेक्केदार पक्षले दाबी गरेको छ । 
काहुले–एकतीन–मेमेङ सडककै दोश्रो खण्ड पनि गौरी पार्वती मृतसञ्जिवनी जेभी काठमाडौंले लिएको छ । गत साउन मै सम्झौता अवधि सकिएर वैशाख १७ सम्ममा काम सक्नुपर्ने गरी म्याद थपिएको ११ दशमलव २ किलोमिटरको सो योजनाको भौतिक प्रगति जम्मा ३० प्रतिशत मात्रै रहेको छ । ७ करोड ५६ लाखमा निर्माणको जिम्मा दिइएको सो योजनाको आर्थिक प्रगति १६ प्रतिशतमात्र छ । 
यसमा पनि ठेक्केदारको चरम लापरवाही देखिएको कार्यालयले जनाएको छ । काहुले–एकतीन–मेमेङ सडक मै पर्ने खेवाथाम खोला पूलको भौतिक प्रगति ७५ प्रतिशत छ । देव एण्ड शायर पाथिभरा सरोज जेभीले २ करोड १ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको २५ मिटर लामो सो पूल डिजाइनमा रहेका समस्या तथा सडक निर्माणका भएको ढिलाइका कारण समयमा निर्माण सम्पन्न हुन मुस्किल परेको छ । यस्तै १० दशमलव ६ किलोमिटरको सुम्निमाचोक–रानीटार सडकको भौतिक प्रगति जम्मा ३० प्रतिशत मात्रै छ । 
गजुरमुखी निर्माण कम्पनी इलामले ७ करोड ९९ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको सो सडक आगामी जेठ ७ सम्ममा निर्माण सक्नुपर्ने छ । तर, निर्माण व्यवसायीको ढिलासुस्ती र चरम लापरवाही, अत्याधिक वर्षालगायतका कारण समयमा सम्पन्न हुन मुस्किल रहेको प्रमुख इन्जीनियर श्रेष्ठको भनाई छ । गजुरमुखी निर्माण कम्पनीले नै जिम्मा लिएको ५ दशमलव १७ किलोमिटरको काहुले–चरीभञ्ज्याङ ओयाम सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्रै रहेको श्रेष्ठ बताउँछन् । जेठ २६ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक निर्माण कम्पनीले ४ करोड २९ लाख रुपैयाँमा जिम्मा लिएको हो । तर, सो योजनाको हालसम्म आर्थिक प्रगति शून्य रहेको छ । यो योजनासमेत समयमा सम्पन्न हुन कठिन छ । 
एसएएस कन्स्ट्रक्सन मोरङले १ करोड ५६ लाखमा ठेक्का लिएको जोरपोखरी–काहुले सडक मर्मतको कार्यको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ । वैशाख ८ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सो योजना ९ दशमलव ८ किलोमिटरको छ । निर्माण कम्पनीले निर्माण सामग्रीको अभावको कारण देखाई आयोजना अघि बढाउन सकेको छैन । सो योजना पनि समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरिएको छ । 
यस्तै ५ दशमलव ४ किलोमिटरको सप्तमी सराङडाँडा सडकको हालसम्म भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ । याक्थुङहाङ एसएएस जेभी मोरङले ४ करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको सो योजनाको आर्थिक प्रगति भने ६५ प्रतिशत मात्रै छ । जेठ २५ सम्ममा सम्पन्न गर्नुपर्ने सो योजना समय मै पूरा हुने अपेक्षा छ । सडक मर्मत उपभोक्ता समितिबाट निर्माण गरिएको जोरपोखरी काहुले सडकको अर्को खण्डमा भने भौतिक प्रगति ८५ प्रतिशत छ । ३ महिना म्याद थपिएको सो योजना समयमै पूरा हुने बताइन्छ । ९ दशमलव ८ किलोमिटरको सो योजनाको बजेट ७० लाख १९ हजार रुपैयाँ रहेको छ । सो योजनालाई उन्नति समावेशी कार्यक्रमको भौतिक निर्माणतर्फ उदाहरणीय योजनाका रुपमा लिइएको इन्जीनियर श्रेष्ठ बताउँछन् । जिल्लामा अन्य ५ योजनाको डिपीआर तयार गर्न उन्नतिले सहयोग गरेको थियो । 
ठेक्केदारले देखाए आ–आफ्ना समस्या
समयमै योजनाहरु सम्पन्न गर्न कठीन पर्ने देखिएका बेला ठेक्केदारहरुले आ–आफ्ना समस्या देखाउँदै समयमै योजना सम्पन्न गर्ने दाबी गरे । निर्माण कार्यमा यथेष्ठ प्रगति गर्न नसकेको भन्दै आलोचना भएपछि गौरीपार्वती मृतसञ्जिवनी जेभीका सञ्चालक निर्मल उप्रेतीले भने ‘यो योजना उन्नतिले आफ्नो अनुकूलतामा परिवर्तन गरेपनि हुन्छ । उपभोक्ता समितिलाई काम दिएपनि हुन्छ ।’ काम गर्न नसकेको अर्को कम्पनी गजुरमुखी निर्माण कम्पनीका निर्देशक डम्बर खड्काले निर्माण सामग्री नपाएको, उन्नति परियोजनाले सहयोग नगरेको, मजदूरको अभावलगायतका कारण समयमा काम गर्न नसकिएको बताए । सडक पूलको ठेक्का लिएको देव एण्ड शायर पाथिभरा सरोज जेभीका केदार बाँस्कोटाले बाढी र पहिरोका कारण समयमा काम हुन नसकेको, निर्माण सामग्री खोलाले बगाएको दाबी गरे ।
व्यवसायीहरुकै कारण निर्माण कार्यले प्रगति गर्न नसकेको बताउँदै बाँस्कोटाले सबै योजना समयमै सम्पन्न गरेर दाताको सहयोग बाहिरिनबाट रोक्नुपर्ने बताए ।
 निर्माण व्यवसायीहरुले जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, फिदिम नगरपालिका र फालेलुङ गाँउपालिकाका प्रमुखहरु, वडाध्यक्षहरु, मुख्य राजनीतिक दलहरु एमाले, काँग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका जिल्ला नेताहरु, कार्यालय प्रमुखहरु उपस्थित बैठकमै आफूहरुलाई काम गर्न कठीन समस्या भएको देखाउँदै आफूहरु ठेक्का तोड्न र धरौटी रकम माया मार्न तयार रहेको चेतावनी दिए । उनीहरुले ठोस कारण बिनै जिल्ला स्तरीय अन्तरक्रियामा यस्तो धम्की दिएका हुन् । 
प्रजिअको आक्रोश ‘यस्तो पनि जवाफ हुन्छ ?’
सामान्य समस्या देखाएर निर्माण व्यवसायीहरुले काम अघि बढाउन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बैठकमा नै आक्रोश पोखेका छन् । उनले कार्यक्रममै निर्माण व्यवसायीहरुलाई निर्धारित समयमा काम सम्पन्न गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिँदै समयसीमा पनि तोकिदिएका छन् । प्रजिअ अधिकारीले ठेक्केदारहरुसँग आफ्नै दायित्व र धर्म हुनुपर्ने भन्दै आफ्नो दायित्व पूरा गर्न आग्रह पनि गरे । 
कामदार नपाएको, निर्माण सामग्रीको अभाव भएको, पानीको अभाव भएको, वर्षाका कारण अवरोध भएको लगायत समस्या ठेक्केदारहरुले देखाएपछि प्रजिअ अधिकारीले भने ‘यी कुरा ठेक्का लिँदै थाहा हुनुपर्ने र प्रबन्ध गर्नुपर्ने कुराहरु हुन् ।’ ठेक्केदारहरुलाई प्रश्न गर्दै प्रजिअ अधिकारीले भने ‘यस्तो पनि जवाफ हुन्छ ?’ उनले पाँचथरको विकास र जिल्लाबासीको सहजताका लागि प्राप्त सहयोग कुनै पनि मूल्यमा फिर्ता हुनु नहुने गरी सबैले मिलेर काम सम्पन्न गर्नुपर्ने आवश्यकता दर्साए । ‘यदि सहयोगको रकम बाहिरियो भने यो पाँचथरबासीका लागि सबैभन्दा ठूलो अन्याय ठहरिनेछ’ प्रजिअ अधिकारीले भने । 
स्थानीय भन्छन् ‘आएको सुविधा उपभोग गर्न नपाए हामी यसै छाड्दैनौँ’
फालेलुङ–१ का बासिन्दा एवम् काहुले–एकतीन सडक (उपभोक्ता समितितर्फ)का उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर जवेगु काम नसकिए त्यसको जवाफ दिने निकाय नभेटिएको बताउँछन् । तर, स्थानीयले प्राप्त गर्ने सुविधा नपाए स्थानीय चुप लागेर नबस्ने जवेगुको टिप्पणी छ । ‘हाम्रो लागि आएको सुविधा उपभोग गर्न नपाए (सडक नबनिए) हामी त्यसै चुप लागेर चाही बस्दैनौँ । यसको परिणाम राम्रो हुने छैन्’ जवेगुले भने ‘काम गरे झैँ गरेर भाग्न चाही दिन्नौँ ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता