- नरेन इलामेली

माइजोगमाई, २३ फागुनः इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजारमा एक दिने जैविक बिषादी तथा गड्यौले मल बनाउने तालिम सम्पन्न भएको छ।
उन्नती समावेशी बृद्दि कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोग तथा इलामेली चिया उत्पादक सहकारी संस्था सूर्योदय नगरपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो। तालिममा किसानहरुलाई गड्यौले मल, जैविक भिटामीन र जैविक बिषादी बनाउने तरीका, प्रयोग गर्ने तरिका र त्यसका फाइदाबारे जानकारी गराइएको थियो।
इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सुबेदीको अध्यक्षता, चिया बिस्तार आयोजना मंगलबारेकी कृषि प्राविधिक लिला शिवाकोटीको प्रमुख आथित्यता तथा इलामेली चिया उत्पादक सहकारी संस्थाकी चिया प्राविधिक विनिता लामिछानेको विशेष आतिथ्यतामा सम्पन्न सो तालिमलाई चिया बिस्तार आयोजना मंगलबारेकी कृषि प्राविधिक लिला शिवाकोटीले सहजीकरण गरेकी थिइन्
पछिल्लो समय नेपालमा बढेको रासायनिक बिषादीको प्रयोगले मानव शरीर र वातावरणमा पारेको असरलाई न्यूनीकरण गर्दै जैविक बिषादी र गड्यौले मल उत्पादनलाई प्रोत्साहन गर्ने र वातावरणलाई सन्तुलित राख्दै माटोको उर्वराशक्ति कायम राख्न र मानव स्वास्थ्यमा परेको असरलाई समेत न्युनिकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सुबेदीले बताए। त्यस्तै गाउँघर मै पाइने स्थानिय वनस्पतिहरूबाट मल, भिटामिन तथा बिषादी बनाउने सकिने हुँदा यो कम खर्चिलो र प्रभावकारी बन्न सक्ने प्रशिक्षक लिला शिवाकोटीले बताइन।
वर्तमान परिस्थितिमा अर्गानीक खेतीको विकल्प नभएको यस अवस्थामा इलामेली चिया उत्पादक सहकारी संस्थाले आयोजना गरेको यो तालिम एकदमै प्रभावकारी भएको र यसले अर्गानीक खेतीलाई समेत प्रोत्साहन गरेको भन्दै तालिममा सहभागीहरुले आयोजकलाई धन्यवाद समेत व्यक्त गरे। तालिममा ३० जना किसानहरुको सहभागिता रहेको थियो।