- एकराज दुलाल

योजना एउटा सामूहिक, कुशल र विवेकपूर्ण प्रकृया वा प्रयास हो । यो वर्तमान समयमा निकै लोकप्रिय भइरहेको छ । सीमित स्रोत र साधनका साथमा निश्चित् समयमा सरकारले धेरै काम गर्नु पर्ने हुन्छ । त्यसैले विकासशील देशहरुमा यसको महत्व बढिरहेको छ । संगठनहरुको विस्तार र बृद्धिमा पनि यसको महत्व बढेको छ । योजना भविष्यमुखी वा पूर्ण अनुमानित हुन्छ । स्रोत र साधनको बाँडफाँड समन्वयात्मक तरिकाबाट गरिएको हुन्छ । खासमा भन्ने हो भने विकासको उदेश्य मुलुकमा योजनाबद्ध विकास गर्नु हो । तर हाम्रो देशमा योजना निर्माणको क्रममा राजनीतिक,आर्थिक, सामाजिक र प्रशासनिक समस्याहरु व्याप्त छन् ।
समस्याहरुः
पर्याप्त तथ्यको अभावमा योजना तर्जुमा गर्नु यसको एउटा समस्या हो । जसले योजना अधुरो रहन्छ । हचुवाको भरमा योजनाहरु निर्माण हुने गर्दछ । साधन र जनशक्तिको अनुमानित योजना तय गर्दा बस्तुपरक गरिँदैन । जसको प्रमुख कारण योजना सम्बन्धि ज्ञान र सिपको कमी हुनु हो ।
अझै हाम्रो देशमा त के छ भने योजना छनोटमा राजनीतिक भागबण्ढा र दवावहरुले विशेष भुमिका खेलेको छ । कतिपय योजनाहरुमा राजनीतिक आग्रहद्वारा छनोट हुने र कार्य सम्पादन क्षमतामा असर पर्ने अनि कार्यान्वयनको स्तरमा पुग्दा नपुग्दै विवादित हुने गर्छन् । योजनाहरु निर्माण गर्ने क्रममा योजनाहरुको प्रतिवेदन सत्य तथ्य नहुनु पनि वर्तमान समस्या नै हो । समय,सरसामान र जनशक्तिको बास्तविक हिसावकिताव राख्नु पर्ने ठाउँमा निकाय मौन र अव्यवस्थित हुनु पनि चरम लापरवाही हो । यस्तै विभिन्न निकाय तथा योजना निर्माण क्षेत्रसँग समन्वयको अभावले पनि समस्या आउने गरेको छ । सडक विभागले सडक निर्माण गरिरहेको बेला खानेपानीले भत्काउने,निर्माण स्थलमा समन्वयको अभाव (जस्तैः इलामकै सन्दर्भमा भन्ने हो भने मार्ट भवन निर्माण गर्दा तरकारी व्यवसायीसँगको समन्वय अभाव) जस्ता विविध समस्या नै समस्याबाट ग्रस्त रहेर योजनाहरु निर्माण हुने हुनाले विवादित हुन्छन् । नेपालमा यस्ता समस्याहरुका तथ्य छापछाप्ति रहेका छन् ।
समाधानः
योजना कार्यान्वयनको जिम्मा लिएका व्यक्तिहरुले लक्ष्य पूरा गर्न सकेनन् भने छानविन गरी त्यस्ता व्यक्ति वा संस्थालाई सजायको भागिदार बनाउनु पर्दछ । राजनैतिक रुपमा अपराधलाई ढाकछोप गर्ने परिपाटिको अन्त्य गर्नुपर्छ । कर्मचारीहरु कमिसनमा हिस्सेदारी हुने गर्दछन् । उनीहरुलाई उचित कारवाही हुनुपर्दछ । कार्य सम्पन्न गरिसकेपछि मुल्याङ्कन गर्ने निकाय कुनै राजनैतिक पक्षको हुनुहुँदैन । अर्को चुरो कुरो के हो भने शासकहरुमा दृढ इच्छाशक्तिको कमी छ । राजनीतिक नेता र कर्मचारीतन्त्रमा भ्रष्टाचार व्याप्त छ । यिनीहरुको निगरानी गर्ने निकाय अख्तियार बलियो भएर प्रस्तुत हुनु पर्ने देखिन्छ । विश्वका विभिन्न देश हामीभन्दा निकै अगाडि बढिसकेको अवस्था छ । तर हामी भने यी र यस्ता समस्याहरुबाट ग्रसित भएर अगाडी बढ्न सकेका छैनौँ । सरकारले सवै विभागसँग समन्वय गरी अगाडि बढ्ने हो भने समस्याहरु समाधान हुन कत्ति पनि समय लाग्दैन ।