इलामको एक कार्यक्रममा अन्तरदेशीय युवा साझेदारी क्रियाकलापको खोजी

इलाम, २७ साउनः बङ्गलादेश र इलामका युवाहरुले संयुक्त रुपमा युवाको क्षेत्रमा साझेदारी गर्न सक्ने विषयको खोजी गरिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित भर्चुअल अन्र्तक्रिया कार्यक्रममा इलाम र बंगलादेशका युवाहरुले साझेदारी रुपमा गर्नसक्ने क्रियाकलापहरुको खोजी गरिएको हो । 
अमेरिकन कर्नर इलामले आयोजना गरेको कार्यक्रममा इलामका ३ वटा युवा संघसंस्थाहरुका प्रतिनिधिहरु र बंगलादेशका ५ वटा संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।समृद्ध पहाड युकेका सुदिप श्रेष्ठले कार्यक्रममा आफ्नो युवाको क्षेत्रमा गरिरहेको कामको अनुभव बताउदै बंगलादेश र इलामको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक अवस्थाको अध्ययन गरि आगामी दिनमा युवा लक्षित कार्यक्रममार्फत अनुभव आदानप्रदान गर्ने विश्वास व्यक्त गरे । विपत नियन्त्रण र विपतपछिको सहजिकरणको क्षेत्रमा अमेरिकन कर्नरमार्फत नै सञ्चालन गरिरहेको कार्यक्रमका विषयमा युवा अधिकारकर्मी कुमार श्रेष्ठ र दिपा कार्कीले सहभागीहरुलाई जानकारी गराएका थिए । युवा रेडक्रस सर्कलका तर्फबाट निलम राईले इलाममा भइरहेको कार्यक्रमको जानकारी गराएकी थिइन् ।
वंगलादेशको तर्फबाट फर्जना रहमानले त्यहाँका ५ वटा युवा संस्थाहरुको सहजिकरण गरेकी थिइन् । बंगलादेशमा युएनले दिगो विकास लक्ष २०३० लाई आधार बनाएर युवाको क्षेत्रमा काम भईरहेको उनले जानकारी दिइन् ।   
अमेरिकन कर्नरका संयोजक हेमसागर पौडेलले इलाममा अमेरिकन कर्नरको विकास र यसका कार्यक्रमका विषयमा सहभागीलाई जानकारी गराएका थिए । एक घण्टासम्म इण्टरनेटको सहयोग लिई भर्चुअल रुपमा गुगलको ह्याङ्गआउटको प्रयोग गरि एकसाथ भएका सहभागीहरुले आगामी दिनमा भौतिक रुपमा नै एकअर्काको देशको भ्रमण गर्न निम्तो गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता