
इलाम, २८ साउन : दुर्घटनामा बुबा गुमाएका दुई छात्रको एसईईसम्मको अध्ययनको भर्ना शुल्क इलामको माइभ्याली फुटबल क्लबले ब्यहोर्ने भएको छ । इलाममा सञ्चालन हुनु पूर्व गत कात्तिक २४ गते माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण फुटवल कपको तयारीका लागि रोलर ल्याउने क्रममा ट्रक दुर्घटनामा परि मृत्यू भएका चालक भिम नेम्वाङका दुई छोराहरुको पढाईको लागि भर्ना खर्च क्लबले ब्यर्होने भएको हो ।
माईभ्यालीको सो अभियानलाई साथ दिदै इलाम नगरपालिका ८ मा सञ्चालित ज्योतिविद्या मन्दिर माध्यमिक विद्यालयले उनीहरुलाई निशुल्क पढाउने भएको छ । कक्षा आठमा अध्यनरत आयुष र कक्षा सातमा अध्यनरत आदर्श नेम्वाङलाई निशुल्क पढाउने विषयमा आईतबार सम्झौता समेत भएको छ । सम्झौता पत्रमा माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ र विद्यालयका प्रधानाध्यापक सिनेट श्रेष्ठले हस्ताक्षर समेत गरेका हुन् । पाँचथर घर भई हाल इलाम नगरपालिका–६ खरेलडाँडामा बस्ने उनीहरु पढाईमा समेत अब्बल रहेको विद्यालय श्रोतले जानकारी दिएको छ ।
माईभ्याली फुटबल क्लबले लिएको जिम्मेवारीलाई साथ दिएको भन्दै क्लबका अध्यक्ष चेम्जोङले विद्यालयलाई धन्यवाद ब्यक्त गरे । विद्यालयले हालसम्ममा करिब ३० जना विद्यार्थीलाई निशुल्क अध्यापन गराइरहेको समेत जानकारी गराउँदै उक्त विद्यार्थीलाई पढाउने जिम्मेवारी दिएकोमा विद्यालयको तर्फबाट सञ्चालक सिनेट श्रेष्ठले क्लबप्रति आभार ब्यक्त गरेका थिए ।