बिर्तामोड, २४ असोजः झापाको बिर्तामोडस्थित वीरता जेसीजले दुई लाख रुपैयाँको अक्षयकोषसहित दुई जना पूर्व अध्यक्षको स्मृतिमा पुरस्कारको स्थापना गरेको छ ।
वीरता जेसीजको सचिवालयमा आज बुधबार आयोजित एक कार्यक्रमकाबीच पुरस्कार स्थापनाको घोषणासँगै अक्षयकोषका लागि रकम हस्तान्तरण सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले दुई पुरस्कार स्थापनाको घोषणा गरेका थिए ।
पूर्व अध्यक्षहरुको स्मृतिमा ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार’ स्थापना गरिएको हो । उक्त पुरस्कारका लागि स्व. ढकालको परिवारका तर्फबाट श्रीमती सावित्रा ढकाल तथा छोरा–बुहारी सिर्जन र एलिनाले अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।
त्यस्तै स्व. शर्मा (घिमिरे)को परिवारबाट श्रीमती रेखा घिमिरे र भाइ लव घिमिरेले अक्षयकोषको रकम प्रदान गरेका थिए । हरेक वर्ष वीरता जेसीजको साधारणसभामा प्रदान गरिने दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार यसै वर्षबाट वितरण शुरु गरिने बताइएको छ । समारोहमा स्व. ढकालका परिवारका तर्फबाट भाइ मोहन ढकाल र लक्ष्मण ढकालले जेसीजको अगुवाइमा हुन लागेको कार्यको प्रशंसा गरेका थिए ।
त्यस्तै, पत्रकार महासंघ प्रदेश नं. १ कार्यसमिति सदस्य तीर्थ सिग्देल र महासंघ झापाका सचिव सन्तोष आचार्यले समेत जेसीजको कार्यको प्रशंसा गर्दै आफ्ना सुझाव राखेका थिए । वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष जीवनकुमार खड्का, जेसीआई मिसन भिजनको वाचन उपाध्यक्ष युवराज कुँवर र आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।
वीरता जेसीजले छुट्टै बैंक खाता मार्फत अक्षयकोषको सञ्चालन गर्ने र त्यसका लागि आवश्यक कार्य्विधि समेत बनाइने बताइएको छ । वीरता जेसीज तथा संस्थाको दीर्घकालीन योजना समिति र दाता परिवारको परामर्श र संलग्नतामा उक्त कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले जानकारी दिए । पुरस्कृत प्रतिभा छनौटका लागि छुट्टै समिति मार्फत कार्य अघि बढाइने समेत बताइएको छ ।
वीरता जेसीजमा स्व. ढकाल र शर्माले पु¥याएको योगदानको कदर स्वरुप उहाँहरुको योगदानलाई कसैको विस्मृतिमा जान नदिन अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको संस्थापक अध्यक्ष बस्नेतले बताए । मदन ढकाल सन् १९८४ र दिलकुमार शर्मा सन् १९८८ मा वीरता जेसीजको अध्यक्ष भएका थिए ।
स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार ः
२००९ साल जेठ १९ गते जन्मनुभएका मदन ढकाल सन् १९८१मा वीरता जेसीजको संस्थापक महासचिव हुँदै सन् १९८४मा अध्यक्ष बनेका थिए । क्रमशः नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसम्म भएका ढकाल झापाका अग्रज पत्रकार, साहित्यकार, समाजसेवीको रुपमा परिचित थिए । उनले लामो समय पूर्वाञ्चल दैनिकको प्रधानसम्पादक पदमा रहेर सेवा गरेका थिए । २०७३ मंसीर २३गते ६४ बर्षको अल्प उमेरमा उनको स्वर्गारोहण भयो । जेसीज र पत्रकारिता क्षेत्रमा उनको योगदानको कदर गर्दै यो पुरस्कार स्थापना गरिएको हो । वीरता जेसीज तथा जेसीज संस्थाको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिनेछ ।
स्व. दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार ः
२०१६ साल फागुन १५ गते जन्मिएका दिलकुमार शर्मा घिमिरे सन् १९८८मा वीरता जेसीजको अध्यक्ष बनेका थिए । जेसीज अभियानमा उनको विशिष्ठ योगदान रह्यो । २०६९ असार २४ गते ५३ बर्षको अल्प उमेरमा उनको स्वर्गारोहण भयो । जेसीजसँगै समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय उनको योगदानको कदर गर्दै यो पुरस्कार स्थापना गरिएको हो । वीरता जेसीजमा बर्षभरि सक्रिय रहने पूर्वअध्यक्षहरुमध्येबाट एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिनेछ ।