इलामको पशुपतीनगरदेखी ताप्लेजुङको कञ्चनजंघा क्षेत्रसम्मको पर्यटन प्रर्वद्धनको लागी ५ स्थानिय तह एकजुट

इलाम । इलामको पशुपतीनगरदेखी ताप्लेजुङको कञ्चनजंघा क्षेत्रसम्मको पर्यटन प्रर्वद्धनको लागी ५ स्थानिय तह एकजुट भएका छन । इलामको सन्दकपुर पर्यटन क्षेत्रमा भेला भएका ३ जिल्लाका ५ स्थानिय तहहरु संयुक्त रुपमा पर्यटन प्रर्वद्धनका गतिविधीहरु अगाडी बढाउन सहमत भएका हुन् । 
फालेलुङ गाँउपालिकाको आयोजनमा भएको पिटिआइ करिडोरमा पर्यापर्यटनको संभावना र चुनौती बिषय कार्यक्रममा सहभागी भएका इलामको माइजोगमाई र सन्दकपुुर, पाँचथरको फालेलुङ र याङवरक, ताप्लेजुङको सिदिङ्वा गाँउपालिकाका जनप्रतिनिधी एवम पर्यटनकर्मीहरुले सन्दकपुर घोषणापत्र जारी गर्दै मेची पहाडका ३ जिल्लाका सिमा क्षेत्रलाई पर्यटकिय गन्तव्य रुपमा प्रचार गर्दै पर्यटकहरुको आर्कषणको केन्द्र बनाउने एकजुट भएका हुन । कार्यक्रमका प्रमुख अतिथी संघिय साँसद बसन्त नेम्वाङले केही महिनाभित्रमै सरकारले पर्यटन सर्किटको अवधारणा सार्वजनिक गर्ने बताए। मेची पर्यटन करिडोरको भविष्य उज्वल भएकाले सवैको समन्वयले मात्र योजना सफल हुने धारणा राखे । 
मुलुकको शासन परिर्वतन भएकाले केही विकासका कार्य केन्द्र, प्रदेश र स्थानिय सरकारले दायित्वबोध गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा आफनो धारण राख्दै पुर्व पशुपन्क्षी मन्त्री तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले मुलुक यसअघि अधिकार प्राप्तीको आन्दोलनमा नै रहेको र ७० बर्षको अथक प्रयासपछि संविधान मात्र नभइ ३ तहको सरकार बनाएकले अब सभावनाहरुको खोजी गरि आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिए । उनले अहिले मुलुक स्थिरतामा रहेकाले बल्ल विकासको गतिमा अगाडी बढेको बताए । उनले पर्यटन प्रर्वद्धनका लागी हुन सक्ने सवै प्रयासका लागी सकारात्मक रहेको उल्लेख गरे ।
प्रदेश नं १ को प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुले कृषि पशु र उद्योगबाट मुलुकमा समृद्धि आउने बताइन। उनले मानेभञ्ज्याङ देखी चित्रे गुम्बासम्मको क्षेत्रमा पर्यटन पदमार्ग निर्माणका साथै गेष्ट हाउस निर्माणको लागी योजनमा समावेश गरी बजेट बिनियोजनका कार्य अगाडी बढाइएको बताइन । पर्यटनको गुरुयोजना निर्माण गरेर अगाडी बढाउन सकिए भारतको सिक्कीम जाने पर्यटकलाई समेत सन्दकपुर हुँदै लग्न सकिने वहाँले जानकारी दिइन ।
कार्यक्रममा दिपज्योती युवा क्लबका कार्यक्रम संयोजक सुनिल बान्तवाले संस्थाले रेडपान्डा संरक्षणमा गरेको प्रयास र संरक्षणका अवसरका साथै चुनौतीको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
फालेलुङ गाँउपालिका अध्यक्ष सञ्च केरुङ संयोजक र प्रमुख प्रशासकिय अधिकृत मौसम ढुङ्गेल सदस्यसचिव रहेको कोरिडर निर्माण कार्यदल बनाएको छ । कार्यदलमा नेपाल भारत सिमा क्षेत्रका ५ गाँउपालिका प्रमुख उपप्रमुख एवम प्रमुख प्रशासकिय अधिकृत रहेका छन् । त्यसैगरी ३ जिल्लाका समन्वय समिती प्रमुख, संघिय तथा प्रदेश साँसद सल्लाहकार रहेका छन । कार्यदलले कञ्चनजंघा वेसक्याम्पसम्मको खानेपानी, विधुत, सुरक्षा, चौरी संस्कृती व्यवस्थापन, होमस्टे क्षेत्र पहिचान, मौलिक उत्पादन पहिचान, प्रदेश र केन्द्रसंग समन्वय, रेडपान्डा संरक्षण, धार्मिक क्षेत्र पहिचान, संचार सुविधाको विकास लगायतको बिषयसम्म छलफल गरेर आगामी पुष १ गते इलामको माइपोखरी देउराली बैठकमा अवधारणा अगाडी ल्याउने जनाइएको छ ।
कार्यक्रममा बोल्दै सन्दकपुर गाँउपालिका उपाध्यक्ष शोभा पराजुलीले १० बर्षे द्धन्द्ध र स्थानिय सरकारको अभावमा पुर्वको पर्यटनले गति लिन नसकेको बताउँदै समन्वय र सहकार्यको माध्यमबाट पहाडी क्षेत्रको पर्यटन प्रर्वंद्धनको सुरुवात हुनु सकारात्मक भएको बताइन । पर्यटकहरुको आर्कषणको निम्ती सन्दकपुरले सडक र विद्युत विस्तारलाई प्राथमिक्तामा राखेर कार्य अगाडी बढाइरहेको उनको जोड थियो । त्यसैगरी माइजोगमाई गाँउपालिका उपाध्यक्ष सावित्रा भट्टराईले भाषणमा मात्र नभई व्यवहारमा पर्यटकहरु भित्र्याउनुपर्ने बताइन । उनले सरकारको वेवास्ता भएपनि भारतबाट आएको पर्यटकको कारणले मात्र सिमा क्षेत्रको पर्यटनले सामान्य गति लिएको धारणा राखिन।
सन्दकपुर गाँउपालिका अध्यक्ष उदयबहादुर राईले तमोर कोरिडरको घुन्सासम्मका पर्यटकिय गन्तव्यहरुको प्रचार एवम पर्यटन गर्नका लागी ३ जिल्लाका स्थानिय तहहरु एकजुट हुनुपर्ने अपरिहार्य रहेको धारणा राखे । उनले चरिचरण बन्द गर्न र हरियो रुख काट्न प्रतिवन्ध गर्ने गाँउपालिकाको योजना रहेको बताए  । गाँउपालिकाको माथिल्लो क्षेत्रलाई संरक्षित क्षेत्र बनाउदै चौरी गोठहरु प्रतिस्थापन गरेर वृक्षारोपण गर्दै हरियाली गाँउपालिकाको पहिचान बनाउन सन्दकपुर अगाडी बढेको उनको जोड थियो । गाँउपालिका क्षेत्रको टप्पुमा रेडपान्डा प्रजनन केन्द्र र कुकुर कारण रेडपान्डा जोखिममा रहेको कारण नियन्त्रण कार्यक्रम अगाडी बढाउने योजना रहेको उनले बताए । 
माइजोगमाई गाँउपालिका अध्यक्ष जीतबहादुर राईले दिर्घकालिन योजना र रणनिती बनाएर झापा देखी ताप्लेजुङसम्मको पर्यटकिय क्षेत्रमा पुर्वाधार निर्माणलाई अगाडी बढाउनुपर्ने बताए । उनले पर्यटकिय क्षेत्र र पर्यटनलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना नहुँदा पुर्वको पर्यटनले सोचे अनुरुपको गति लिन नसकेको धारणा राखे । उनले भने  पर्यटन प्रर्वद्धनका लागी टुरिष्ट गाइडका साथै भ्युपोइन्टका पुर्वाधार विकासलाई प्राथमिकतामा दिनुपर्छ । ५ वटा स्थानिय तहले कुनकुन क्षेत्रको पर्यटनलाई विकास गर्ने हो निक्यौल गरेर मात्र कार्य अगाडी बढाउनुपर्ने वहाँको भनाइ थियो ।
आयोजक समितीका सचिव एवम फालेलुङ गाँउपालिका–४ का अध्यक्ष विद्धिमान साउदेनले पर्यटकिय गन्तव्यको प्रचार गरेपनि सक्रिय रुपमा काम गर्न नसक्दा फाइदा लिन नसकिएको धारणा राखे। उनले समग्र क्षेत्रको पर्यटन विकासमा योगदान पुगोस भन्ने हिसाबले कार्यक्रम आयोजना गरिएको बताए
पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिनाले गुरुयोजना बनाएर प्रर्वद्धन गर्न सकेमात्र पुर्वी पहाडका पर्यटकिय गन्तव्यहरु आर्कषणको केन्द्र बन्ने बताए । उनले पुर्वी पहाडका माथिल्लो भु–भागलाई संरक्षित क्षेत्र बनाउनुपर्नेमा जोड दिँदै लोपोन्मुख चरा, जडिबृटी र रेडपान्डा लगायतको संरक्षण गर्नेका एकजुट हुनुपर्ने धारणा राखे । 
सन्दकपुर गाँउपालिका–२ का अध्यक्ष गिरीराज खनालले पर्यटकहरुका लागी ट्रेकिङ रुटका साथै ठाँउठाँउमा पर्यटकहरुका लागी होमस्टेको समेत व्यवस्थापन गर्नुपर्ने बताए । उनले पुर्वको पर्यटनको मुख्य आधार जडिबुटी , हिमश्रृङखलाको दृश्यावलोकन र रेडपान्डा रहेकाले यसको संरक्षणमा सवैको चासो हुनुपर्नेमा जोड दिए । कञ्चनजंघा पर्यटन विकास समितीका महासचिव डिल्ली केरुङले पर्यटन घोषणापत्र निर्माणमा पाथिभरा जाने मार्गलाई समेत समावेश गर्दै पदमार्ग निर्माणलाई प्राथमिकतामा राख्न सुझाव दिए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता