यस कारण पर्छ नेपाली महिला फुटबलरको रोजाइमा विभागीय टिम

  • नमीन ढकाल 

इलाम । नेपाली यु–१९ राष्ट्रिय टोलीकी सदस्य अन्जना राना मगर विभागीय टिम त्रिभुवन आर्मीकी पहिलो रोजाइकी गोलरक्षक हुन । चौथो प्रधानसेनापती कपमा मध्माञ्चलको गोलपोष्ट सम्हाल्दै सर्वोत्कृष्ट गोलरक्षक चुनिएकी उनी प्रतियोगिता लगतै उनीमाथी विभागिय टिम आर्मीको नजर प¥यो । ‘कान्छी गोलकिपर’को उपनामबाट परिचित उनी आर्मीबाट खेल्नु अघि नै जिल्ला टिम रौतहटबाट प्रतिनिधित्व गर्दै नेपाली महिला राष्ट्रिय टिममा स्थान बनाइसकेकी थिइन । अन्जना मात्र होइन यु–१९ टिमकी कप्तान सरु लिम्बु पनि विभागीय टिम एपिएफको मिडफिल्डर हुन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–१४ की स्थायी बासिन्दा सरु २०७३ सालबाट एपिएफ क्लबमा करार खेलाडीको रुपमा सुरु गर्दै ३ महिना अघिबाट जवान पदमा जागिर समेत पाइन ।
नेपाली महिला सिनियर टिम तथा उमेर समुहका अधिकाँश खेलाडी विभागीय टिमसंग अनुवन्ध छन । सुरक्षा र जागिरको प्रत्याभुतीका कारण अधिकाँश खेलाडीहरु विभागीय टिमबाट फुटबल अगाडी बढाउँदै आएको बताउँछन । १७ बर्षिया अन्जना भन्छिन ‘ आर्मीबाट खेल्दा उमेर पुगेपछि जागिर पनि पाइन्छ । जिल्ला र क्षेत्रिय टिमबाट खेल्नुभन्दा विभागीय टिमबाट खेल्दा सुरक्षाको पनि प्रत्याभुत हुन्छ । नियमित प्रशिक्षणको पनि अवसर पाइन्छ ।’
३ वटै विभागीय टिमबाट खेल्दै अनुभव बटुलेकी राष्ट्रिय टोलीकी सदस्य दिपा न्यौपाने विभागीय टिमबाट फुटबल करियरपछि पनि अरु थुप्रै अवसर भएकाले आर्कषण बढेको बताउँछिन । हाल नेपाल पुलिस क्लबबाट फुटबल खेल्दै आएकी मोरङ पथरी शनिश्चरे नगरपालिका–१ की स्थायी बासिन्दा दिपा भन्छिन महिला फुटबलको व्यवसायीक क्लब नभएकाले विभागीय टिम रोज्नुपरेको बताउँछिन । उनी भन्छिन ‘ आफनो करियरको लागी पनि ३ मध्ये एक विभागीय टिम रोज्नुपर्छ । सवै प्लेयरको सपना हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने त्यसका लागी पनि विभागीय टिमको विकल्प छैन । खेल्ने वातावरण हुन्छ, समस्या पर्दा सहयोग हुन्छ अनि जागिर पनि पाइन्छ भविष्य बनाउनका लागी’ फुटबल खेल्दा खेल्दै एपेन्डिक्स भएपछि उपचारको सम्पुर्ण खर्च आर्मीले नै व्यहोरेको गोलरक्षक अन्जना बताउँछिन ।
विभागले धानेको महिला राष्ट्रिय टिम
राष्ट्रिय महिला फुटबल टोलीमा पूर्णकालीन खेलाडी नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सेना र प्रहरीका खेलाडीमा निर्भर हुनुपरेको छ ।
चौथो साफमा राष्ट्रिय टोलीको लागि छनौट भएका २० जना खेलाडीमध्ये नेपाली सेनाबाट ८ जना, सशस्त्र प्रहरीबाट ९ जना र नेपाल प्रहरीबाट २ जना गरी १९ जना खेलाडी विभागीय टोलीका थिए । टोलीमा अपवादका रुपमा एक मात्र अन्जना राना मगरले मध्यमाञ्चलबाट प्रतिनिधित्व गरेकी थिइन । उनी पनि हाल नेपाल आर्मीबाट खेल्दै आएकी छन । एन्फाले ओलम्पिक छनौटका लागी क्लोज क्याम्पमा एपिएफका १९, आर्मीका १३, पुलिसका १०, रौतहटका ३ र अन्य जिल्लाका २ जना गरी ४७ जनालाई प्रशिक्षण बोलाएको थियो । तर अन्तिम छनौट गर्दा जिल्लाका टिमबाट एक जना पनि खेलाडी परेनन् ।
‘साम्बा’ नामले परिचित नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी विभागिय टिममा पर्याप्त प्रशिक्षण र जागिरको अवसरका कारण खेलाडीहरुको आर्कषण बढेको बताउँछिन । ‘जिल्लाबाट उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई विभागीय टिमले अवसर दिने गरेको छ ।’ उनले भनिन् । २०६८ सालबाट फुटबल करियर सुरु गरेकी इलामकी एन्जिला सुव्वा २०६९ सालबाट एपिएफ क्लबमा आवद्ध भइन । छैटौ राष्ट्रिय खेलकुदमा पुर्वाञ्चल टिमको गोलपोष्ट सम्हालेकी सुव्वाको खेल कौशलबाट प्रभावित भएपछि एपिएफले जागिरको आर्कषण दिएर आफनो क्लबमा आवद्ध गरायो । हाल उनी नेपालको पहिलो रोजाईको गोलरक्षकको रुपमा रहेकी छन ।
यस्ता विभागीय टोलीमा प्रशिक्षकहरुको पनि अनिवार्य व्यवस्था गरिने भएकोले खेलाडीहरुलाई प्रशिक्षणमा सहजता हुने मानिन्छ । जस्तो कि, सेनाको टोलीलाइ राष्ट्रिय टिमका प्रशिक्षक किसोर केसी ले हाल प्रशिक्षण दिइरहेका छन् । यस भन्दा अघि आर्दश मल्ल र चक्र तामाङले यो जिम्मेवारी पूरा गरेका थिए । यसैगरि, एपिएफ क्लबको महिला फुटबल टिममा प्रशिक्षक जनकसिंह थारुले सम्हाल्दै आएका छन । त्यस्तै, नेपाल पुलिस क्लबमा महिला टोलीलाई प्रशिक्षण गर्ने जिम्मेवारी संजिव जोशीले पाएका छन् ।
राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का महिला फुटबल टोली खडा गर्न विभागीय टिमकै भर पर्नुपरेको स्वीर्काछन् । ‘जे जति राम्रा खेलाडीहरु छन, ती सबै विभागीय टिममै छन’, उनी भन्छन, ‘वर्षमा जम्मा एक, दुई वटा टुर्नामेन्ट हुन्छ, त्यसमा राम्रो खेल्नेलाई विभागीय टिमले राख्छ ।’
मोफसलमा नियमित प्रशिक्षण र पुर्वाधारको अभाव
साविकको पुर्वाञ्चल टिमका प्रशिक्षक दर्शन भक्तराज घर व्यवहारका कारण महिलाले फुटबलमा लागिरहन नपाउने र विभागमा नरहे नियमित अभ्यासबाट समेत वञ्चित हुनुपर्ने बताउँछन् । ‘पुरुष सरह महिलाले फुटबल प्रशिक्षणमा लाग्न पाउँदैनन, विभागीय टिममा प्रवेश गरेपछि भने जागिरका कारण पनि अभ्यासमा जुट्न पाउँछन’, उनी भन्छन ।
अर्कोतर्फ, विभागीय टिमले नरुचाउँदा खेलाडीको खेल जीवन समाप्त हुने जोखिम पनि उत्तिकै देखिन्छ । पुर्व राष्ट्रिय खेलाडी अम्बिका दाहाल महिला फुटबललाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउनुपर्ने बताउँछिन् । ‘विभागीय टिम बाहेक अन्य स्थानबाट महिला फुटबललाई त्यत्ति प्राथमिकता दिएको पाइँदैन, यसलाई सरकारले प्राथमिकता दिनुपर्यो, निजी क्षेत्र पनि लाग्नुपर्यो’, उनको भनाइ छ ।
साविकको मध्यमाञ्चलका प्रशिक्षक नुरराज काफ्ले पनि विभागीय टिम बाहेक अन्य टिममा खेलाडी टिकाइ राख्न गाह्रो हुने मान्छन् । ‘विभागीय टिम बाहेक पुरुषको जस्तो महिलाको फुटबल क्लब पनि छैन । त्यसमाथी पनि अन्य टिमले १२ महिना नै प्रशिक्षण दिन र तलव भत्ता खुवाएर राख्ने क्षमता छैन, जसका कारण पनि अन्य टिम आउन नसकेका हुन’, उनको भनाइ छ । रौतहट जिल्लाबाट मात्र हाल ३० भन्दा बढी खेलाडी विभागीय टिममा जागिरेको रुपमा फुटबल खेल्दै आएको काफ्लेले बताए ।
तर, विभागीय टिम र राष्ट्रिय टोलीबिच फरक नछुट्टिँदा विभाग बाहिरका खेलाडी भने ओझेलमा परेका देखिन्छन् । आन्तरिक प्रतियोगितामा सहभागी हुन पाइने र रोजीरोटीको लागि समेत विभागीय टिम आर्कषणका केन्द्र बनेका त देखिन्छन् तर, यसले महिला फुटबल आन्तरिक प्रतियोगिता मै सीमित हुने सम्भावना बढाएको देखिन्छ ।
राष्ट्रिय प्रतियोगितामा समेत विभागीय टोली र जिल्ला टोलीबिचको खेल बाघ र बाख्राको लडाई झै देखिन्छ । विभागीय टिम सामु साविकका विकास क्षेत्रका टोली समेत निरिह छन । गत साउनमा सम्पन्न उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटबलमा जिल्ला टिमसंग विभागीय टिम पुलिस मात्र पराजित बन्यो । उसलाई रौतहटले १–० ले हराउदै चौथो स्थान प्राप्त ग¥यो । अन्य खेलमा रौतहट आर्मी र एपिएफ सामु निरिह नै देखियो भने काठमाण्डौ एक खेल पनि नजिति प्रतियोगिताबाट बाहिरियो ।
जिल्ला टिम पनि अब बलियो बन्नेछ
विभागीय टिमले नै नेपालको फुटबल धानेको तर्कसंग अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राई सहमत छन । उनी भन्छन “ अहिलेसम्म विभागीय खेलाडीकै भरमा नेपाली राष्ट्रिय टोली छ । तर विभागलाई खेलाडी उपलव्ध गराउने पनि जिल्लाले नै हो ।’ पर्याप्त संरचना र नियमित अभ्यासका कारण खेलाडीहरु विभागीय टिम प्रति आर्कषित भएको उनको भनाई छ । ‘ पुरानो विकास क्षेत्रसंग पुर्वाधारको अभाव छ । अहिलेको अवस्थालाई हेर्दा प्रादेशिक टिम एमेच्योर र विभाग प्रोफेसनल देखिन्छ । अब चाडै यिनीहरु बिच समानता आउनेछ ।’ उनले भने ‘ एन्फा केन्द्रिय संरचनाबाट प्रादेशिक संरचनामा जाने भएकाले प्रदेशले आफनो क्षेत्रका खेलाडीहरुलाई टिकाइ राख्न सक्छ । जिल्ला टिम र विभागीय टिमबिच अब बाघ र बाख्राको लडाई देखिने छैन ।’ महिला फुटबल विकासका लागी भनेर एन्फाले रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल एकाडेमीको काम समेत अगाडी बढाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता