अन्तुमा पर्यटक बढे, थाम्न छाेड्याे भएका पूर्वाधारले

अन्तु । अन्तुमा पर्यटकको चाप बढेपनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक ७ हजार पर्यटक पुगेपनि पर्यटन पूर्वाधारको अभाव भएको हो ।
ग्रामीण पर्यटकीयस्थलको गतिलो तन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनीक शौचालयको अभाव भएको छ । बिहान झिसमिसमा सूर्योदय हेर्न जंगलको बाटो भएर जानुपर्ने भएपनि सडक बत्ति नहुँदा पर्यटक अलमलमा पर्ने गरेका छन् ।
स्थानीय समुदायले पर्यटन प्रवद्र्धनको काम गरेको अन्तुमा दैनिक आउने पर्यटक होमस्टेमा अटाउन छोडेका छन् । परिवारका सदस्यझै बसेर रात कटाउन सकिने भएपछि लोभ्भिएका अन्तु पुग्ने पर्यटकको चाप बढेसँगै होमस्टेले थाम्न छोडेका छन् । होमस्टेमा अटाउन छोडेपछि पर्यटकहरु त्रिपाल टाँगेरै भएपनि रात कटाउने गरेको अन्तु पर्यटन केन्द्रका अध्यक्ष धनकुमार आलले बताउनुभयो ।
२० वर्षअघिदेखि होमस्टेमा पर्यटकलाई स्वागत गरि पर्यटन प्रवद्र्धनमा जुटेका अन्तुबासीलाई सनिबार त्यहाँ पुग्ने पर्यटकलाई अटाउन सकेनन् । ४३ वटा होमस्टे र १५ वटा होटल लजमा २५ सय पर्यटक अटाउने क्षमता भएपनि सनिबार एकैदिन ७ हजार पर्यटक पुगेपछि अन्तु पर्यटन प्रवद्र्धन केन्द्रले होमस्टे दर्ता नभएका घर र त्रिपाल टाँगेर पर्यटकलाई पठाएको थियो ।
सूर्योदय, हरियालि चिया वगान, अन्तु पोखरीमा डुङ्गा सयर, सीमावर्ती भारतीय भु–भागको अवलोकन र कंचनजंघा हिमालको दृश्यवलोकन गरिएपनि पूर्वाधार निर्माण गर्नुपर्ने झापाका राजेश लेप्चाले बताउनुभयो । ‘सूर्योदयको दृश्य हेर्न रातीनै अन्तुडाँडा पुग्नुपर्ने भएकाले सडक बत्ति नहुँदा समस्या भयो लेप्चाले भन्नुभयो–‘हजारौँ पर्यटक आउने अन्तुमा सार्वजनीक शौचालय, फोहोर सरसफाई र बाक्लो सीत पर्ने भएकाले पर्यटक बस्ने टहराहरु निर्माण गर्नुपर्छ ।’
सडक कालोपत्रे भएसँगै पर्यटकको चाप बढेकाले गाडि पार्किङस्थल नहुँदा समस्या भएको सूर्योदय नगरपालिका १० का यातायात व्यवसायी राजन गुरुङ्गले बताउनुभयो । अन्तुडाँडा छेउमा सानो पार्किङस्थल भएपनि धेरैजसो पर्यटकहरु आफ्नै गाडिमा आउने भएकाले पार्किङस्थलमा नअटाएर सडक र स्थानीयबासीको घर आगानमा गाडि पार्किङ गर्दा समस्या भएको हो ।
अघिल्ला वर्षहरुमा अशोज, कात्तिक, मंसिर, फागनु, चैत्र र बैशाख महिनामा मात्रै पर्यटकको चाप हुने गरेपनि अहिले १२ महिना नै पर्यटकले होमस्टेमा खान बस्न र अन्तु घुम्नका लागि बुक गर्दै आएको पर्यटन व्यवसायी खगराज घिमिरेले बताउनुभयो । गतवर्ष दैनिक रुपमा ४ सयसम्म पर्यटक आउने गरेपनि यो वर्ष अशोज, कात्तिक र मंसिर महिनामा दैनिक ३ हजारदेखि ७ हजारसम्म पर्यटक आउने गरेको घिमिरेले बताउनुभयो । सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने अन्तु पर्यटकीयस्थलमा रहेको अन्तु टावरमा प्रवेशका लागि नगरपालिकाले प्रति पर्यटक ५० रुपैयाँ लिने गरेको छ ।
अन्तुडाँडा पर्यटन सामुदायीक वन क्षेत्रमा रहेको अन्तु टावरको ५ सय पर्यटक अटाउने क्षमता भएपनि पर्यटकको चाप बढेपछि धेरैजसो पर्यटकले भुइमै बसेर सूर्योदयको दृश्य हेर्दै आएका छन् । पर्यटक टावर प्रवेशमा सामुसायीक वनका सदस्य र होमस्टे संचालकलाई निःशुल्क गरिएको छ । अन्तुमा नेपाल भार र भुटानका पर्यटक पुग्ने गरेका छन् ।  लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता