बिर्तामोड–भद्रपुर सडक : चार लेनको बनाइँदै, २२ करोडको योजनालाई यो वर्ष एक करोड मात्र बजेट


बिर्तामोड, १२ पुसः  झापा — बिर्तामोड–भद्रपुर चार लेन सडकका लागि चालु वर्ष अत्यन्तै न्यून बजेट विनियोजन भएको छ ।
जिल्लामै पहिलो चार लेनको सडक निर्माणका लागि संघीय सरकारले यो वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जिल्लामै सर्वाधिक चाप रहेको बिर्तामोड–भद्रपुर सडक गत असोजदेखि निर्माण थालिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट सुनिश्चित गरेपछि सडक डिभिजन दमकले ठेक्का सम्झौता गरेको थियो ।
उक्त सडक निर्माणको ठेक्का आसिस–प्रेरा जेभीले लिएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ०७५ असार २४ गते ठेक्का सम्झौता गरेको थियो । भ्याट बाहेक २२ करोड ४३ लाख ९ हजार ८ सय १९ रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको सडक डिभिजनले जनाएको छ ।
निर्माण कम्पनीले अहिले सडक निर्माणको काम धमाधम गरिरहेको छ । तर, संघीय सरकारले चालु वर्ष एक करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेपछि सरोकारवाला चिन्तित बनेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले एक करोड मात्र बजेट विनियोजन हुनु सरकारको लापरबाही भएको टिप्पणी गरे ।
‘यस्तो बजेट विनियोजन हामीलाई मान्य हुन सक्दैन । सरकार आफैं डेढ वर्षमा सडक निर्माण सक्नुपर्छ भनेर ठेक्का लगाउने । अनि, अहिले आएर एक वर्षका लागि बजेट चाहिँ एक करोड मात्र छुट्याउन मिल्छ ?’ भट्टराईले प्रश्न गरे ।
उनले सडकको काम सुरु गर्ने दिन स्थानीय, प्रदेश तथा संघीय जनप्रतिनिधिले सडक निर्माणमा कुनै आर्थिक समस्या हुन नदिने भनी गरेको प्रतिबद्धता अब पूरा गर्नुपर्ने ध्यानाकर्षण गराए ।
उनले पूर्वकै एक व्यापारिक केन्द्रका रूपमा विकास भएको बिर्तामोडको मुख्य भागको सडक निर्माणमा ढिलाई हुने कुरा व्यापारीहरूको तर्फबाट स्वीकार्य नहुने चेतावनी समेत दिए । युवा व्यवसायी दिपेन्द्र राउतले पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणमा ढिलाई हुने चिन्ता बढेको बताए । उनले बर्षौदेखि साप्ती खेप्नु परे पनि सडक निर्माण सुरु हुँदा हर्षित भएको बताए ।
‘सडक निर्माण कार्यले सडकमा हिड्न मुस्किल भएको छ । धुलो र धुवाँले व्यापार पूर्णरुपमा ठप्प बनेको छ । यस्तो बेला सरकारले पर्याप्त बजेट दिएर निर्माण कार्य चाडै सक्नुपर्नेमा, एक करोड मात्रै बजेट दिनु हामी यहाँका व्यापारी तथा उपभोक्तामाथि अन्याय गर्नु हो’ राउतले भने । उनले यसतर्फ गम्भीर बनेर स्थानीय जनप्रतिनिधिहरू तत्काल बजेटको खोजीमा लाग्नुपर्ने माग गरे ।
पहिलो चरणमा ४.७ किलोमिटर सडक निर्माणको लागि ठेक्का लागेको हो । ठेक्का सम्झौता अनुसार बिर्तामोड मुक्ति चोकदेखि २.८ किलोमिटर सडक फुटपाथसहित चार लेनको बन्नेछ । बाँकी सडक दुई लेनको बन्नेछ । दुई लेनको सडक ७ मिटर चौडा हुने डिभिजन कार्यालयले जनाएको छ ।
उक्त सडक आस्फाल प्रणालीबाट निर्माण गरिने कार्यालयले जनाएको छ । मुक्ति चोकदेखि बिर्तामोडको भद्रपुर बस स्ट्यान्डसम्मको चार लेन सडकको बीच भागमा बोरिएर राखिने छ ।
यस्तै, निर्माणाधीन गौरीगञ्ज–अल्ताबारी सडकका लागि पनि यो वर्ष सरकारले एक करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । अर्पाप्त बजेट विनियोजन गरेको भन्दै गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आपत्ति जनाएका छन् । उनले विभिन्न कोणबाट सीमा सडक महत्त्वपूर्ण भए पनि सरकारले बजेट विनियोजन गर्न कन्जुस्याइँ गरेकोप्रति आपत्ति जनाए ।
उक्त सडक निर्माणको जिम्मा बामत–भण्डार निर्माण सेवा प्रालिले लिएको छ । निर्माण कम्पनीसंग सडक डिभिजनले ०७४ असार २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको थियो । गौरीगञ्ज चोकदेखि दक्षिण भारतीय सीमासम्म ७ किलोमिटर सडक ९ करोड ३२ लाख ६८ हजार ४ सय ४१ रुपैयाँमा ठेक्का लागेको हो । कान्तिपुरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता