सरकारसँग थापा रुष्ट

बिर्तामोड, २१ मंसिरः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकार स्वयम् हत्या, हिंसा, भ्रष्टचार र बलात्कारीको संरक्षणमा लागेको आरोप लगाएका छन् । शुक्रबार झापाको बिर्तामोडमा राप्रपाको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारले आफ्नो असलीरुप देखाएको बताएका हुन् । 
वाइडबडी विमान खरिदमा अर्बौँ रुपैयाँ घोटला हुनु, सुनकाण्डको अनुसन्धान ढिसमिस बनाइनु, बलात्कारीको पहिचानमा आनकानी गर्ने, बाह्य धर्मको प्रचारमा करोडौँ रुपैयाँ खरिद गर्नुले वर्तमान सरकारको राजनीति सत्ता प्राप्तिका लागि भएको आरोप लगाएका छन् । 
अधिकांश समय सरकारको आलोचनामा खर्चेका थापाले सरकारको दुई तिहाइको दम्भलाई सारा नेपालीले महसुस गरिसकेको जनाए । देशमा विखण्डनकारी अवस्था सुरु भएको तर्क थापाको छ । सरकारको रवैयापन देश र जनताका लागि खतरा भएको तर्क थापाले गरे ।
बाहिरी शक्तिको आक्रमणका कारण प्रतिनिधिसभाको चुनावमा पार्टीले ठूलो हार बेहोरेको थापाले बताए । उनले भने, ‘चुनावमा हारे पनि राप्रपका एजेन्डाको महत्व देश भर बढेको छ, तपाईँहरु ढुक्क हुनुहोस् पार्टीलाई म मिलाएर अघि बढ्छु ।’ पार्टी एकीकरणका लागि बारम्बार छलफल भइरहेको बताएका थापाले राप्रपाको राजनीति सत्ता प्राप्तिका लागि नभएर सिद्धान्त स्थापना र विकासका लागि भएको जनाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलमध्ये राप्रपा हिन्दु राष्ट्र स्थापनाका लागि अघि बढेको जनाए । हिन्दुत्वको मुद्दा नेपाली जनता र पहिचानसँग जोडिएको बताएका थापाले भने, ‘राजतन्त्रको अन्त्य भएको १ दशक बढी भइसक्यो तपाईँहरु मुल्याङ्कन गर्नुहोस् नेपाली जनताले के पाए ?’
कार्यक्रम बोल्दै पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले नेपालीको संस्कृतिक पहिचान हिन्दु धर्म संकटमा पर्न लागेको बताएका छन् । सरकारले स्वयम् विदेशी धर्मको प्रचारमा लागेकाले धार्मिक द्वन्द्व सुरु हुने सम्भावना बढेको जिकिर लिङ्देनले गरे ।  धर्म रक्षाका लागि राप्रपाले जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनले जनाए । संघीयता कार्यान्वयले राष्ट्र विखण्डनको  अवस्था आउन सक्ने तर्क लिङ्देनले गरे । हिन्दु राष्ट्र र राजसंस्था देशको आवश्यकता भएको र पुनः फर्कने उनले बताए । प्रशिक्षण कार्यक्रममा प्रदेश–१का १४ जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।    
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता