झापाको भद्रपुरमा बुद्ध एयरको रात्रीकालिन परीक्षण उडान सफल, अब दैनिक ३ उडान हुने

काठमाडौं– बुद्ध एयरले भद्रपुरमा रात्रिकालिन विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ ।

बुद्धले एरिया नेभिगेसन प्रविधिको प्रयोग गरी उडान सुरु गरेको हो । जसको सहायताले “लो भिजिबिलिटी“ र हाल जडान गरिएको रनवे लाईटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने बुद्धले जनाएको छ । यो प्रविधि संसारभरि प्रचलित र सुरक्षित मानिन्छ ।

यसअघि “लो भिजिबिलिटी“ र सूर्यास्तपश्चात् उडान रद्द गर्नुपर्दथ्यो । जसले गर्दा यात्रुलाई पनि कठिनाई र विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो । अहिले भद्रपुरमा नियमित दुई उडान संचालनमा छ । १० फेब्रुअरीबाट रात्रीकालिन उडानसंगै दैनिक तीन उडान संचालन हुनेछ । 
हवाईयात्रा हरेक तप्काले गर्न सकुन् भन्ने हेतुले नै बुद्ध एयरले विभिन्न प्रकारका भाडादर राखेको छ । दैनिक सयौं स्वदेशी तथा विदेशी यात्रुहरुले भद्रपुरबाट काठमाडौँको उडान भरिरहेका छन् । यसबाट स्थानीय बजारमा पनि चहलपहल बढेको छ भने रोजगारीमा पनि टेवा पुर्याएको एयरलाईन्सको दावी छ । बुध्द एयरकै पहलमा भद्रपुरमा हवाई इन्धनको व्यवस्था भएको थियो । 

गत वर्ष खराब मौसम र “लो भिजिबिलिटी“ का कारण एयरलाइन्सहरुको दर्जनौ उडानहरु रद्द भएको थियो । यात्रुहरुको मागलाई ध्यानमा राखेर नागरिक उड्डयन प्राधिकरणले करिब ६ महिना अगाडी नै यस विमानस्थलमा एरिया नेभिगेसन प्रविधि जडान गरिएता पनि रात्रिकालिन उडानका लागि आवश्यक रनवे लाईटहरु जडान गर्न बाँकी थियो ।
अब यसको निदान भएको छ, उडान रद्द हुने समस्या पनि रहेको एयरलाईन्सले बताएको छ । रात्रीकालिन उडानका लागि नागरिक उड्डयन प्राधिकरण र यसका विशेषज्ञ टोलीले यसअघि धनगढिमा पनि आवश्यक पूर्वाधारहरु जडान गरि बुद्ध एयरले टेस्ट फ्लाईट र लगत्तै रात्रीकालिन व्यवसायिक उडान पनि भर्दै आइरहेको छ ।
एरिया नेभिगेसन प्रविधि जनकपुर एयरपोर्टमा पनि बुध्द एयर तथा प्राधिकरणको सहकार्यमा सम्पन्न हुने अवस्थामा रहेको छ । अब केही महिनामै त्यहाँ पनि परिक्षण उडान र तत्पश्चात् व्यवसायिक उडान भर्ने बुद्धले जनाएको छ ।
भद्रपुर पूर्वका चार जिल्ला झापा,  इलाम,  पाँचथर,  ताप्लेजुङको प्रवेशद्वार हो । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढि, दार्जिलिङ,  सिक्किम मात्र नभई तेश्रो मुलुक भुटान तथा बंग्लादेशलाई पनि जोड्ने गरेको छ भद्रपुरले ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता