सडक निर्माणमा एडिबीको एक अर्ब ५८ करोड लगानी


एसियाली विकास बैंकले भूकम्पपछि दोलखाका विभिन्न सडक निर्माणमा एक अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । एडिबीले जिल्लाका तीनवटा मुख्य सडकखण्डअन्तर्गत दुईवटा कालोपत्रे र एक ग्राभेलस्तरको बनाउन सो परिमाणको बजेट लगानी गरेको हो ।

जिल्ला समन्वय समिति दोलखाका अनुसार भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत जिल्लाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य लोकमार्ग सुनखानी–साङ्बा र दक्षिणी क्षेत्र प्रवेश गर्ने भिरकोट–हावा सडक स्तरोन्नतिको काम धमाधम भइरहेका छन् । त्यसबाहेक एडिबीले सडक विभागसँगको सहकार्यमा दोलखा–सिँगटी सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी तुलसीनाथ गौतमका अनुसार दुईवटा सडक आयोजना सुनखानी–साङ्बा र भिरकोट–हावा सडक यसअघि जिल्ला प्राविधिक कार्यालय समन्वय समितिले व्यवस्थापन गरे पनि कार्यालय समायोजनपछि अहिले उक्त सडकको काम पुनर्निर्माण प्राधिकरणबाटै हुने गरेको छ । दोलखा–सिँगटी सडक आयोजना भने डिभिजन सडक कार्यालयमातहत सञ्चालन भइरहेको कार्यालयका प्रमुख इन्जिनियर धर्मेन्द्रकुमार झाले बताए । आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले समचार लेखेका छन् ।

भिरकोट–सहरेको प्रगति ४३ प्रतिशत मात्रै
एडिबीकै सहयोगमा निर्माणाधीन भिरकोट– सहरे–हावा सडकले भने उल्लेख्य प्रगति गर्न नसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख निर्मलदर्शन आचार्यले सडकको पहिलो खण्डमा सोचजस्तो प्रगति हुन नसकेको बताए । दोस्रो खण्डको ठेक्का सम्झौता निकै पछि भएको र पहिलोको तुलनामा दोस्रोको प्रगति सन्तोषजनक रहेको उनको भनाइ छ ।

आचार्यका अनुसार दुवै सडकखण्डको अहिलेसम्मको प्रगति ४३ प्रतिशत मात्रै छ । दोस्रो सडकखण्ड निर्माणको जिम्मा बिरुवा मास्तिङदेवी वर्ल्डवाइड कम्पनीले लिएको छ भने पहिलो खण्डको जिम्मेवारी तामाङ कुमार जेभीले पाएको छ । दुवै प्याकेजको लागत ४५ करोड २५ लाख रुपैयाँ रहेको परामर्शदाता कम्पनीका प्रमुख सुजन देवकोटाले जानकारी दिए ।

सन्तोषजनक प्रगति छ : एडिबी
एसियाली विकास बैंकको सहयोगमा दोलखामा निर्माणाधीन सडक आयोजनाहरूको गुणस्तर चेकजाँच डिपार्टका इन्जिनियर नवीन महर्जनले आयोजनाका कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । उनले आयोजनाहरूको दिगो व्यवस्थापनका लागि एडिबीले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

 दोलखा–सिँगटी सडकको ७० प्रतिशत प्रगति
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बनाएको फराकिलो सडकलाई ५.५ मिटरको कालोपत्रेसहित व्यवस्थित गर्ने काम ७० प्रतिशत पूरा भएको सडक आयोजनाले जनाएको छ । संरचना निर्माणसहित ७२ करोड लागतमा कालोपत्रे हुन लागेको सडक स्ट्रक्चर निर्माणको काम भने ९५ प्रतिशत पूरा भइसकेको छ ।  नाली आठ मिटर रहेको सडकमा १९ किलोमिटर कालोपत्रे भइसकेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख इन्जिनियर धर्मेन्द्रकुमार झाले जानकारी दिए । उनले तोकिएकै समयमा सडक निर्माणको काम सम्पन्न हुने बताए । डिभिएसटी प्रविधिबाट कालोपत्रे भइरहेको उक्त सडक निर्माणको जिम्मा भने चाइनिज कम्पनी सिआर फाइब र नेपाली कम्पनी स्वच्छन्द निर्माण सेवाले पाएका छन् । कालोपत्रेको प्रविधि भूगोलअनुसारको नभएकाले काममा केही समस्या आउने गरेको निर्माण कम्पनीका साइड इन्चार्ज हरि निरौलाले बताए ।

 सुनखानी–साङ्बाले ७५ प्रतिशत काम पूरा गर्‍यो
जिल्लाको उपल्लो उत्तरी क्षेत्र जोड्ने सुनखानी–साङ्बा सडक आयोजनाको काम ७५ प्रतिशत पूरा भएको छ । सुनखानीको सिसागोदेखि बाबरेको दम्बा खोलासम्म सडक चौडा र स्तरोन्नतिसहित ग्राभेलस्तरको बन्न लागेको उक्त आयोजनामा चौडा बनाउने काम सकिएको परामर्शदाता कम्पनीका प्रमुख देवकोटाको भनाइ छ । सडकको ८० प्रतिशत नाली निर्माण पूरा भइसकेको र सबबेस बिछ्याउन सुरु गरिएको निर्माण कम्पनीका साइड इन्चार्ज हरि निरौलाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता