फाल्गुनन्द गोल्डकपः साबिक विजेता सुनसरी सरस्वतीसँग पराजीत

फिदिम, २५ पुसः फिदिम माविको खेलमैदानमा जारी फाल्गुनन्द गोल्डकपमा आज भएको खेलमा साबिक विजेता सुनसरी ११ लाई २–१ गोलले हरारउँदै काठमाण्डौको सरस्वती युथ क्लब फिदिममा जारी १० औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । 
बुधबार सदरमुकाम स्थित फिदिम माविको मैदानमा भएको खेलमा सुनसरीको कमजोर रक्षापत्तिको फाइदा उठाउँदै सरस्वतीले सेमी फाइनलको स्थान तय गरेको हो । सरस्तीको जितका लागि भिक्टोर एक्लैले दुई गोल गरे । सुनसरीका दिपेन तामाङले एक गोल गरे । 
खेलको ८ औँ मिनेटमा सुनसरीका दिपेनले सुरुवाती गोल गरे । उमेश राईको पासलाई दिपेनले गोल गरेका थिए । पहिलो हाफमा गोल गर्न नसकेको सरस्वतीले दोस्रो हाफमा आक्रमक खेल खेल्यो । खेलको ७६ औँ मिनेटमा सरस्वतीका भिक्टोरले गोल गरेर खेललाई बराबरीमा ल्याए । सुनसरीका डिफेन्सले बल क्लियर गर्न नसक्दा भिक्टोरले गोल गरेका थिए । सुनसरीको कमजोर रक्षापत्तिको फाइदा उठाँउदै खेलको ८० औँ मिनेटमा भिक्टोरले दोस्रो गोल गरेर जितलाई निश्चित गरे । 
खेलको अन्तिम १५ मिनेटमा सरस्वतीको आक्रमक खेलको सामना गर्न नसक्दा साविक विजेता प्रतियोगिताबाटै बाहिरिनु परेको हो ।  बुधबार भएको खेलमा सरस्वतीका भिक्टोर म्यान अफ दि म्याच भए । उनले १० हजार नगद प्राप्त गरे ।
डिफेन्सको कमजोरीका कारण आफ्नो टिम पराजीत भएको सुनसरीका खेल प्रशिकक्षक श्याम मानन्धरले प्रतिक्रिया दिए ‘नयाँ खेलाडीलाई खेलमा सामेल गराईको थियो,’ मानन्धरले भने ‘हाम्रो टिमका लागि डिफेन्स लाइन कमजोर देखियो ।’ मैदानको अनुभव नभएर सुरुवमा स्कोर गर्न नसकेको सरस्वतीका खेल प्रशिक्षक प्रदिप नेपालले बताए । ‘सुरुमा खेलाडीले सोचेजस्तो खेल्न सकेनन्,’ नेपालले भने ‘दोस्रो हाफमा खेलाडीले राम्रो खेलेकाले जित निकाल्न सकियो ।’
विहिबार हुने खेलमा रोयल फुटबल क्लब दार्जिलिङले ब्वाइज युनियन क्लब काठमाण्डौको सामना गर्नेछ । प्रतियोगिताको विजेता टिमले चार लाग र उपविजेता टिमले दुई लाख नगद पुरस्कार सहित ट्रफि प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता