विजय थापालाई कसले अनसन बसायो ?

५ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमा र अभिशेकराज सिंहको टोली बिहीबार साँझ जिल्ला अस्पताल इलाममा पुगेका मात्र के थिए चिकित्सकहरुले भने, ‘डा. केसीलाई तुरुन्त काठमाडौं लैजानुपर्छ, हेलिकप्टरको व्यवस्था गरौं ।’
८ बजिसकेको थियो, हेलिकप्टर आउने सुनिश्चित हुन सकिरहेको थिएन । अभिशेकराज सिंहले नेकपाका एक शीर्ष नेतालाई फोन गरेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसम्म कुरा पुर्‍याए ।
नेताहरुबीच कुरा भएपछि अन्नतः नेपाली सेनाको हेलिकप्टर डा. गोविन्द केसीलाई लिन जाने भयो । तर, इलाम होइन भद्रपुर । त्यसपछि डा. केसीलाई एम्बुलेन्समा राखेर भद्रपुर झार्ने तयारी भयो ।
डा. केसीलाई लिन हेलिकप्टर आउने थाहा पाएपछि अर्का अनसनकारी विजय थापा, जो डा. केसीविरुद्ध अनसन बसेका थिए, पनि काठमाडौं आउन तयार भए । र, स्थानीय प्रशासनले ‘माथिको आदेश’ भन्दै उनलाई पनि केही मिनेटको फरक पारेर भद्रपुर पठायो ।
डा. केसीलाई राखिएको एम्बुलेन्स भद्रपुर पुग्नु केही किलोमिटर बाँकी हुँदा अभिशेकराज सिंहको मोवाईल फोनको घन्टी बज्यो । हेलिकप्टर लिएर आएका सेनाका अधिकारीले सिंहलाई ‘डा. केसी र थापालाई सँगै लैजानुपर्ने भएको’ जानकारी दिए ।
उनीहरुका लागि यो ‘सरप्राइज’ थियो । सिंहले त्यो प्रस्ताव अस्वीकार मात्र गरेनन्, डा. केसीलाई धोका हुने भन्दै हेलिकप्टरमा नजाने, बरु बैकल्पिक व्यवस्था गर्ने जवाफ दिए ।
त्यसपछि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले सम्बाद गर्न भन्दै भद्रपुरमा बोलाएर ‘गृहसचिवको आदेश छ, डा. केसी र थापालाई एउटै हेलिकप्टरमा लैजान पर्‍यो’ भने । तर, डा. केसीको टोलीले वैकल्पिक व्यवस्था गर्ने भन्दै अक्सिजन खोज्न थालेपछि स्थानीय प्रशासन पछि हट्यो ।
त्यसपछि थापालाई मेची अञ्चल अस्पताल लगियो भने डा. केसी शुक्रबार करिव ४ बजेतिर काठमाडौं आइपुगे ।

विजय थापालाई कसले अनसन बसायो ?
आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी २५ पुसबाट इलाममा अनसन बसे । त्यसको केही दिनमा डा. केसीविरुद्ध विजय थापालाई खडा गराइयो । उनी पनि इलाम मै अनसन बसे । डा. केसीको समर्थनमा र्‍यालीहरु निस्किए । थापाको समर्थनमा पनि र्‍याली निस्कियो ।
थापाको अनसन सरकार विरद्ध होइन, डा. केसीविरुद्ध थियो । त्यसैले अमुक-अमुक मेडिकल कलेजहरुको सञ्चालकले उनलाई अनसन बसाएको आशंका थियो ।
यसैबीचमा चैतन्यप्रकाश मैनाली नामका व्यक्ति झापाको बी एण्ड सी मेडिकल कलेजको तर्फबाट उनलाई भेट्न इलाम पुगेको खबर आयो । त्यसबारे जिज्ञासा राख्दा बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाइँले पत्रकारहरुलाई गाली गलौज गर्दै धम्की दिए ।
प्रसाईको रवैयाले थापा कसैको ‘इन्ट्रेस्ट’मा अनसन बसेको आशंकालाई थप बल पुर्‍यायो । स्मरणीय के छ भने चैतन्यप्रकाश मैनाली तिनै हुन्, जो कुनै समय बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ भन्दै आमरण अनसन बसेका थिए ।
मेडिकल केलज सञ्चालन गर्न चाहनेहरुले साम, दाम, दण्ड, भेद प्रयोग गरेर सम्बन्धन हत्याउन खोज्नु वा कसैलाई अनसन बसाउनु अस्वभाविक होइन । तर, बिहीबार भद्रपुरमा जे भयो, त्यसले राज्य पनि विजय थापाकै काँध थाप्न लागेको त होइन भन्ने आशंका उब्जाएको डा. केसीका सहयोगीहरु बताउँछन् ।
तिमध्येका एक भन्छन्, ‘अहिले नै धेरै भन्न सक्ने अवस्थामा छैनौं, तर हिजोको घटनाले विजय थापालाई राज्यले नै सहयोग गरेको आशंका जम्माएको छ ।’
उनका अनुसार, सरकारले देशमा धेरै जना अनसनकारी छन् भन्ने पारेर डा. केसीको सत्याग्रहलाई निस्तेज पार्न चाहेको हुन सक्छ । थापालाई डा. केसी भर्ना गरिएको शिक्षण अस्पतालमै लैजानुले पनि सरकारको नियतमा शंका उब्जाएको छ ।
केसीका एक सहयोगी भन्छन्, ‘डा. केसीसँग सम्वाद गर्ने भन्दा पनि विजय थापाहरुलाई अगाडि सारेर चिकित्सा शिक्षा सुधारको मुद्दालाई विद्रुप बनाउन उद्दत भएको हो कि भन्ने भएको छ ।’
अनलाइनखबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता