भद्रपुरमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी

  • गंगा बराल

भद्रपुर, २६ माघः शुक्रबार भद्रपुर नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका सयौं विद्यार्थीले एकसाथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन् ।
भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पहिलोपटक आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा विज्ञान सामग्री प्रदर्शनीमा सरकारी तथा निजीस्तरका विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।
चन्द्रगढीस्थित वीरेन्द्र माविको प्रांगणमा आयोजना गरिएको नृत्य प्रतियोगितामा विद्यालयले सहभागिता जनाएका थिए भने विज्ञान सामग्री प्रदर्शनीमा २० वटा विद्यालयका ३० वटा स्टल रहेका थिए । भद्रपुुरमा सञ्चालित वीरेन्द्र मावि, पशुपति आधारभूत विद्यालय, सरस्वती मावि, गौतमबुद्ध आधारभूत विद्यालय, संस्थागततर्फका चन्द्रगढीको विभूति विद्या मन्दिर, प्रज्ञा एकाडेमी, भद्रपुरस्थित शिशु निकेतन, पृथ्वीनगरस्थित मुनाल एकाडेमीलगायतका विद्यालयका विद्यार्थीले विज्ञानकला प्रदर्शन गरेका थिए । 
विज्ञान प्रदर्शनीमा जीव विज्ञान, चिकित्सा विज्ञान तथा भौतिक विज्ञानका विभिन्न किसिमका नमूना प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले आफैंले सिर्जना गरेका सौर्यमण्ड, जीवको जीवनचक्र, उत्तोलकको प्रयोग र उपयोगिता, पानीको माध्यमबाट चलाउन सकिने  मेशीनरीहरु, वातावरणमैत्री वस्तुहरु, आयुर्वेदिक चिकित्साजस्ता दैनिक जीवनमा उपयोगी विज्ञानका नमूनाहरु प्रस्तुत गरेका थिए भने प्रतियोगितात्मक आठवटा नृत्य प्रस्तुत गरिएको थियो । नृत्यहरु समावेशी थिए । 
नृत्य प्रशिक्षक साया राई र एमबी मोक्तान निर्णायक रहेको नृत्य प्रतियोगितामा आधारभूत कक्षातर्फ प्रज्ञा एकाडेमी प्रथम, ग्रीनफिल्ड एकाडेमी दोस्रो, अरनिको मावि तेस्रो र एमरेल्ड एकाडेमी सान्त्वना भएका थिए भने माध्यमिक कक्षातर्फ सेन्ट कुजुर प्रथम, ग्रीनफिल्ड एकाडेमी दोस्रो, विदुर इङलिश हाईस्कूल तेस्रो  र अरनिको मावि सान्त्वना भएका थिए । नृत्यतर्फ विजयीहरुमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वनालाई ३ हजार नगरदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई समारोहका अध्यक्ष भद्रपुर नगरपालिकाका प्रमुख जीवनुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । 
यसैगरी, विज्ञान सामग्री प्रदर्शनी गरेका विद्यालयमध्ये आधारभूततर्फ भगवती प्रावि प्रथम, गौतमबुद्ध प्रावि दोस्रो र ग्यालेक्सी इङलिश स्कूल तेस्रो भयो भने माध्यमिक कक्षातर्फ वीरेन्द्र मावि प्रथम, शिशु निकेतन दोस्रो तथा मुनाल एकाडेमी र प्रज्ञा एकाडेमी संयुक्त रुपमा तेस्रो भएका थिए । विज्ञान सामग्री प्रदर्शनीतर्फ पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शिक्षा युवा तथा खेलकुद शाखा भद्रपुरका शिक्षक कर्मचारी योगेन्द्र पौडेलले सञ्चालन र शाखा प्रमुख दिनेशकुमार न्यौपानेले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको प्रतियोगितात्मक सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, झापा जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख योगेन्द्रप्रसाद बराल, प्याब्सनको प्रदेश १ का सल्लाहकार गोविन्द लम्साल, शिक्षक महासंघ भद्रपुर नगर अध्यक्ष गणेश गिरी, भद्रपुर वडा नं ७ का वडाध्यक्ष विनोद पोखरेल, नगरपालिकाको सामाजिक विकास शाखा संयोजक मित्रा भट्टराईलगायतले यो प्रतियोगिताले सामुदायिक तथा संस्थागत विद्यालयबीच सौहार्द बढाएको उल्लेख गर्दै यस्ता क्रियाकलापले बालबालिकाको प्रतिभा प्रष्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नगरप्रमुख श्रेष्ठले बालबालिका तथा युवाको क्षमता विकास र प्रतिभा उजागर गर्न यस्ताखाले रचनात्मक क्रियाकलाप आगामी दिनमा पनि नगरपालिकाले संयोजनकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता