बुढी सुखानी पुल निर्माण अलपत्र


इलाम: इलामको राजदुवाली–चिसापानी– दानाबारी– शनिश्चरे– सडकको सुखानी–खुदुनाबारी खण्डमा पर्ने बुढी सुखानी खोलाको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ ।

पुल निर्माण छाडेर हिँडेका निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा समेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । निर्माणको जिम्मेवारी पाएका व्यवसायी शिवराम सापकोटाले प्रमुख जिल्ला अधिकारीको फोन समेत नउठाइ बेपत्ता भएको कार्यालयको भनाई छ ।

पुलको आधा भन्दा बढी निर्माण गरेर निर्माण नै अलपत्र पारेपछि उक्त सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ । वर्षामा सुखानीमा खहरे बाढी आएपछि गाडि सञ्चालन हँुदैन । ‘विरामी र विद्यार्थी ओहोरदोहोर गर्न समस्या छ । पटक–पटक जिम्मेबार निकायमा जानकारी गराउँदा पहल भएन । हामी थाकिसक्यौँ’, माई नगरपालिका दानाबारीका कृष्ण खाकीले भने ।

इलामको माई नगरपालिकाका सम्पूर्ण नगरबासीको हाट बजार भर्न झापा खुदुनाबारी, शनिश्चरे र विर्तामोड जाने मुख्य सडकमा पर्ने पुल अहिले सबैको रमिता बनेर तेर्सिएको छ । हिउँदमा खोलामा पानी नै हुँदैन यस्तो बेलामा पनि निर्माण कार्य ठप्प पारेर वर्षौँदेखि ठेकेदार लापत्ता भएका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा स्काई, अजम्बर, शिवराम जेभीले ज्वाइन्ट पार्टनरशीपमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता भएपनि २५ लाख जतिको काम अधुरै रहेको डिभिजन सडक कार्यालयका डिभिजनल इञ्जिनियर खड्गलाल श्रेष्ठले बताए ।
‘स्ल्याव हालेपनि पुलका अन्य निर्माण र एक्सेस रोड पनि बाँकी छाडिएको छ । पटक–पटक ताकेता फोन गर्दा पनि सापकोटाले उठाएनन् । एक दुई दिनमा सक्छु भनेर पहिले भनेका थिए । अहिले उनी नै वेपत्ता भए’, श्रेष्ठले भने ।
अब कालो सुचिमा राख्ने, ठेक्का सम्झौता रद्द गर्ने प्रकृया अगाडि बढाउने उनले बताए । ठेक्काका विषयमा राष्ट्रिय बाणिज्य बैक रामेछापमा परफरमेन्स ग्यारेण्टी माग भएको तर रामेछापले केन्द्रय कार्यालयमा लेखेर पठाएपनि त्यसको जानकारी समेत नदिएको सडक कार्यालयले जनाएको छ ।
बुढि सुखानी पुलको निर्माण लिएको नेतृत्वदायी कम्पनी स्काई कन्स्ट्रक्सनका यक्षध्वज कार्कीले नाफा केहि पनि नखोजी आफूले शिवजी सापकोटालाई निर्माणको जिम्मा दिएको तर २५ लाख जतिको काम अड्काएको खबर पाएको बताए ।
उनले प्रमुख जिल्ला अधिकारीको फोन आएपछि सापकोटाको खोजी गरेको पनि बताए । कार्यालयले मागेको योग्य ताको आधारमा आपूmहरुले संयुक्त ठेक्का लिएको र ठेक्कामा आफ्नो फर्म मात्र प्रयोग भएको बताए । शिवजी सापकोटालाई खोजेर निर्माणका लागि पुनः दवाब दिने उनको भनाई थियो ।
सन्दकपुर अनलाईनबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता