इलामको देऊमाईमा प्रदेशस्तरीय साहित्य तथा पर्यटन महोत्सव हुँदै

मङ्गलबारे, २१ माघ : इलामको देउमाई नगरपालिकामा आउँदो चैत २३ र २४ गते दुई दिने प्रदेश नम्बर १ स्तरीय साहित्य तथा पर्यटन महोत्सव आयोजना गरिएको छ । देऊमाई नगरपालिकाको सहयोगमा सम्पन्न हुने उक्त महोत्सवको स्थानीय समाजका लागि युवा नामक संस्थाले आयोजना गरेको हो । महोत्सवमा तीनै तहका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ । 
साहित्य र पर्यटनको प्रचार र उजागर गर्ने उद्धेश्यसहित आयोजना गरिएको यो महोत्सवको बरिष्ट साहित्यकार डा ताना शर्माले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सवमा कविता बाचन, साहित्य समीक्षाजस्ता साहित्यिक कार्यक्रम सञ्चालन गरिनेछन् भने देऊमाई नगरपालिका ७ को प्रसिद्ध पर्यटकीयस्थल सिद्धिथुम्का, जीतपुरमा पर्ने पानीटार, नागीडाँडाको गुफाथुम्कीजस्ता पर्यटकीय स्थलमा अवलोकनसहित छुट्टै विशेष कार्यक्रमहरू पनि आयोजना गरिनेछन् । 
महोत्सवको पहिलो दिन १० वर्ष पछाडिको देऊमाई क्षेत्र विषयमा साहित्य समीक्षा आयोजना गरिएको छ । सो कार्यक्रममा डा शर्मासहित ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मोति गौतमले सन्दकपुर दैनिकलाई जानकारी दिए । उनका अनुसार सोही दिन अर्थात महोत्सवको पहिलो दिन नै पूmटबल खेलाडी नवयुग श्रेष्ठ, कलाकारहरू धुर्मुस सुन्तलीको सहभागितामा सङ्घर्षको कथा नामक कार्यक्रम सञ्चालन गरिनेछ । नवयुगको स्थायी घर देऊमाई नगरपालिकामै पर्छ ।
पहिलो दिन नै सिद्धिथुम्काबाट बिहान सूर्योदय र बेलुका सूर्यास्तको अवलोकन गर्ने पानीटारको अवलोकन गर्ने जस्ता कार्यक्रमहरू रहेका छन् । महोत्सवको दोस्रो दिन २४ गते युवा र अबको नेतृत्व विषयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराई र नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई आमन्त्रण गरिएको जनाइएको छ । 
दोस्रो दिन नै कविता बाचन कार्यक्रम आयोजना गरिएको छ । त्यसैगरि हिजो र आजका महिला पात्रहरूको बारेमा पनि कार्यक्रम आयोजना गरिने भएको छ भने इलाम नगरपालिका र देऊमाई नगरपालिका किन घुम्ने ? भन्ने विषयमा चर्चा गरिने भएको छ । दुवै दिन हजार जना भन्दा बढी सहभागी भएर पर्यटकीय स्थलहरूसम्मको मार्च पास तथा साँस्कृतिक कार्यक्रमहरू सम्पन्न हुने पनि अध्यक्ष गौतमले जानकारी दिएका छन्  भन्दै आजको सन्दकपुर दैनिकले समाचार प्रकाशन गरेको छ ।। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता