झापा गोल्डकपः सहारालाई हराउँदै झापा ११ दोस्रो चरणमा

झापा, १८ फागुनःमोफसलकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको चौथो संस्करण शनिबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा आयोजक झापा ११ एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै अघिल्लो यात्रा तय गरेको हो । 
झापा ११ को जितका लागि पहिलो हाफमा भएको २ गोल पर्याप्त बन्यो । खेलको ४० औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै गोलको खाता खोलेका थिए । त्यस्तै क्याप्टेन कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संजोग राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले खेलको पहिलो हाफमा सहारालाई दबाबमा राखेको थियो । दोस्रो हाफमा पनि सहाराले झापालाई दबाब राख्न नसक्दा खेल झापाको पक्षमा रह्यो ।
खेलको म्यान अफ दि म्याच झापा ११का संजोग राई घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । आगामी फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हङकङ नेप्लिज एकाडेमीसहित १० टिम सहभागी छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । आइतबार शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ एफसीबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता