झापा गोल्डकपः उपहार गोलको मद्दतले आर्मी दोश्रो पटक फाइनलमा प्रवेश

इलाम, २५ फागुनः पाहुना टोली दाफिन्सको उपहार गोलको मद्धतले विभागीय टोली त्रिभुवन आमी विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिवारको अन्तिम सेमीफाइनलमा दाफिन्सका सिलो नाङ्गलाको आत्मघाती गोलको मद्दतबाट आर्मीले झापासंग उपाधी भेट पक्का गरेको हो । खेलका ३२ औ मिनेटमा आर्मीका कप्तान भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । जितसंगै आर्मी र झापा दोश्रो पटक उपाधीको लागी भिडने भएका हुन । पहिलो र तेश्रो संस्करणको उपाधीको लागी समेत यि २ टोली भिडेका थिए । जस्मा दुवै संस्करणमा आर्मीले बिजय हासिल गरेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन ।
खेल अवधिभर दाफिन्सले एक दर्जन बढी पावरफुल प्रहार गरेको भएपनि गोल हुन नसक्दा उसको यात्रा सेमीफाइनलमा टुङिगएको छ । पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाफिन्सले दोस्रो हाफमा केही शसक्त प्रहार गरेको थियो । खेलको ४५ औं मिनेटमा दाफिन्सका अहन्दा इशाको पावरफुल प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्यालेका थिए ।
५२ औ मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भएको थियो । ५७ औं मिनेटमा दाफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन् । ६३ औं मिनेटमा पेटाङगाको पावरफुल प्रहार कुथुले बचाउ गरे । आर्मीका टेकबहादुर बुढाथोकिले खेलको ३१ औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाएका थिए ।
जितपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टीमका धेरै खेलाडी घाइते भएको हुनाले अपेक्षित प्रदर्शन हुन नसकेको बताए । आर्मीका लागि एक गोलको स्कोर भइसकेपछि रक्षात्मक खेल खेलेको हुनाले थप गोल गर्नतर्फ नलागेको उनले बताए । दाफिन्सका मेनेजर आशिक थापा मगरले उत्कृष्ठ प्रदर्शनका बावजुत पनि स्कोर हुन नसकेको बताए । खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनु परेको थापाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता