इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) बिजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा विभागिय टोली त्रिभूवन आर्मीलाई ट्राइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । बिभागीय टिम त्रिुभवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले हिमालयन शेर्पासंगको सेमीफाइनल भेट पक्का गरेको हो । खेलको ५७ औ मिनेटमा जितेन्द्र कार्कीको गोलबाट अग्रता बनाएको आर्मीले ८५ औ मिनेटमा गोल खान पुग्यो ।
योगेश गुरुङको फ्रिकिकलाई विकाश थुलुङ राईले खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेटमा दुबै टिमबाट १–१ गोल भएपछि थपिएको १५ मिनेटमा दुवै टिमबाट गोल नभएपछि निर्णय टाइव्रेकरबाट गरिएको हो । टाइव्रेकरमा झापाका विक्रम लिम्बु, योगेश गुरुङ, मिलन राई र विशाल राईले गोल गरे भने भिक्टर एमोवीको प्रहार गोलरक्षक विवश चौधरीले रोकेका थिए । आर्मीका रुपेश क्षेत्री, विकास तामाङ र दिपकुमार लामाले गोल गरे भने युद्ध शाही र विवेक बस्नेतको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए । टाइव्रेकरमा जित दिलाएका गोलरक्षक थापा म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिता अन्र्तगत पहिलो सेमीफाइनल खेल दाउफिन्स क्यामारुन र नेपाल प्रहरी विच हुने छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।