कम्युनिष्ट केन्द्रलाई एक बनाउने उद्घोष

  • मनिषा चम्लागाईँ

झापा, २२ फागुनः नेपाल कम्युष्टि पार्टी (नेकपा)ले एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्घोष गरेको छ । मंगलबार झापाको सुखानीबाट नेकपाले त्यस्तो उद्घोष गरेको हो ।
सुखानीको एउटै मञ्चमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै कम्युनिष्ट केन्द्र बनाउने लक्ष्य रहेको समान धारण राखेका हुन् । ओली र दाहालले सुखानीको एउटै मञ्चमा एकै दिन सम्बोधन गरेको यो पहिलो घटना पनि हो । पाँच सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्न ठूलो पार्टी पंक्तिसहित सुखानी पुगेका अध्यक्षद्वयले भने, “एउटै कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यकासाथ पार्टी एकता भएको हो, यो नेकपाको लामो त्याग र सम्पर्णको कार्यदिशा पनि हो ।” 
कार्यक्रममा दाहालभन्दा अघि बोलेका प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकतामा जुट्न अन्य कम्युनिष्ट दललाई आग्रह गरे । नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने भन्दै ओलीले एकतामा आए उचित जिम्मेवारी दिने आश्वासन समेत दिए  । पञ्चायती शासकले २०२९ सालमा जेल सार्ने बहानामा फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा लगेर हत्या गरेका पाँच जना सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ओलीले भने, “पार्टी एकीकरण ऐतिहासिक घटना हो ।”
उनले असाधारण प्रक्रियाबाट पार्टी एक भएको बताए । अबको राजनीति शान्तिपूर्ण हुनु पर्ने तर्क गरेका ओलीले छुट्टै धारबाट आएको नेकपा माओवादी केन्द्रलाई विश्वासमा ल्याएर पार्टी एकीकरण भएको उल्लेख गरे । पार्टी एकतामा प्रचण्डको असाधारण त्याग रहेको उनले सुनाए । उनले भने, “पार्टी एकीकरणमा उहाँ (प्रचण्ड)ले गर्नु भएको त्याग असाधारण छ ।” वामपन्थी पार्टीको सरकारले एक वर्षमा धेरै काम गरेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘एक वर्षमा कुनै अन्य वर्षको भन्दा डेढ गुण बढी काम गरेका छौँ’ ओलीले भने, ‘अब आउने वर्ष योभन्दा बढी काम गरेर देखाउँछौ ।’ 
२००७ सालको क्रान्ति अधुरो भएकै कारण झापा विद्रोहको आवश्यकता परेको ओलीको तर्क छ । उनले भने, “नेपालको इतिहासमा सुखानीका सहिदको धेरै महत्व छ, त्यस अघि भएका आन्दोलन पूर्ण नभएकै कारण झापा विद्रोह भएको हो ।” देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै विद्रोह चाहनेको मानसिकतामा परिवर्तन जरुरी  भएको प्रधानमन्त्री ओलीको टिप्पणी छ । 
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्टलाई एउटै केन्द्र बनाउन आफु युद्धकालदेखि नै लागि परेको तर्क गरे । सबै कम्युनिष्टको एउटै पार्टी बनाउने अभियानमा सहभागी हुन उनले अन्य पार्टीलाई आग्रह गरे । निक्कै उत्साहका साथ आफ्नो भनाइ राखेका पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गरे । उनले गोरखाका ११ वर्षीय दिलबहादुर रम्तेलको प्रहरीले गोली हानेर हत्या गरेको सम्झँदै माओवादीले रम्तेललाई जनयुद्धको पहिलो सहिद मान्दै आएको बताए । रम्तेलको स्मृति र सुखानी हत्याकाण्डका पाँच शहिदको स्मृतिमा जनयुद्धकालमा नै सहिद सप्ताह मनाउँदै आएको दाहालले बताए । “मैले त्यहीबेला भनेको कुरा धेरैलाई सम्झना छैन होला, हामीले तीन दशकभन्दा अगाडि देखेको सपना पुरा गर्याँै, अब विकास र समृद्धिको यात्रा कोरिनेछ” दाहालले भने । 
झापा बिद्रोह र जनयुद्धलाई जोड्नुपर्छ भनेर हामी अघि बढेका थियौँ त्यो काम अहिले भइरहेको प्रशंग उल्लेख गरेका दाहालले मुलुक बनाउन सबै  प्रकारको सम्झौता गर्नु पर्ने बताए । “हामी एकढिक्का भएका छौँ” दाहालले भने, “देशका नेताले विशेष परिस्थितिमा निर्णय गर्ने क्षमता राखेन भने देश असफल हुन्छ भनेर मलाई थाहा छ, सोही बमोजिम एकताको निर्णयमा अविचलित छौँ ।’ उनले पार्टी एकता कसैले भाँड्न नसक्ने जिकिर गरे ।  
“मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउँछु भनेर प्रतिक्रियावादीले भनेका थिए, मैले तिनलाई दुत्कारेको हो, अब के पाउने होइन, देशले के पाउँछ भन्ने अवस्थामा जानुपर्छ भनेर पार्टी एकता गरिएको हो” दाहालले भने,  “हामीलाई प्रतिक्रियावादीले खेल्ने भूमिकाबाट कसरी बच्ने राम्रो ज्ञान छ ।” 
आफूले नचाहेको भए दोस्रो संविधानसभा समेत असफल हुने दाबी गर्दै दाहालले संविधान निर्माणपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्री र सुशील कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव गरेको सुनाए । नेपाली कांग्रेस त्यो प्रस्तावबाट पछि नहटेको भए विश्वमै सहमतिको राजनीति नेपालमा देख्न पाइने वातवरण उसैबेला बन्ने दाहालको भनाइ छ । केही दिनमा पार्टीको तल्लो तहसम्म एकता गरी सक्ने विश्वास व्यक्त गरेका उनले त्यसपछि नयाँ अभियान लिएर जनतासामु जाने बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता