स्थानीयको अभियानमा मेचेलाई घर

झापा, ११ वैशाखः  सुत्केरी भएको पाँच दिनमा श्रीमानको मृत्यु वियोग सहन गरेकी झापा मेचीनगर नगरपालिका –१०की देवीमाया मेचेलाई सहयोग संकलन गरेर स्थानीयले पक्की घर निर्माण गरिदिएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले घर निर्माणका लागि सात धुर जग्गा खरिद गरिदिएसँगै देवीको घर निर्माण कार्य सुरु भएको थियो । मेचेलाई टिनको छानो र इँट्टाको पर्खाल भएको कम्पाउण्डसहितको तीन कोठे पक्की घर बनाइएको हो ।
उनले विवाह अघि नै करेन्ट लागेर एउटा हात गुमाइसकेकी थिइन् । मेचेले ०७५ साल कात्तिक ८ गते छोरीलाई जन्म दिइन् । देवीका श्रीमान कृष्ण घिमिरेको कात्तिक १३ गते निधन भयो । श्रीमानको मजदुरीबाट जिविकोपार्जन गर्दै आएको देवीको परिवार श्रीमानको मृत्यु पश्चात विहान बेलुकाको छाक के ले टार्ने, बास कहाँ बस्ने भन्ने पीडामा थियो ।  
पाँच वर्षकी छोरी सोम्या मेचे र नवजात शिशुसँग सहयोगको अपील गर्दै हिँडेकी देवीको घर निर्माणका लागि मेचीनगरका विजय डालमियाको संयोजकमा देवि मेचे सहयोग अभियानमा स्थापना गरिएको थियो । मेचेलाई कांग्रेस प्रवक्ता शर्माले छोरा शीर्षप्रकाश शर्माको छैटौँ जन्मदिनमा घर बनाउन जग्गा किनिदिएका हुन् । सहाराविहीन देवीको घर बनाउन एक लाख रुपैयाँमा जग्गा किनिदिएका थिए शर्माले । स्थानीय साथीको अभियानलाई साथ दिएको बताउने शर्मा देवीले घर नभएर मन्दिर पाएको बताए । 

६ लाख २० हजार रुपैयाँको लागतमा उक्त घर निर्माण भएको घर निर्माण गरिएको अभियानका सञ्चार संयोजक मुक्ति पौडेलले बताए । अभियानमा संलग्नले देवीलाई घरसँगै घरमा आवश्यक सबै सामान जुटाइ दिएका छन् । अभियानकर्ताले खाने, बस्ने, लगाउने सबैको प्रबन्ध मिलाएको पौडेल बताउँछन् । 
मेचेका दुई छोरीको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी मेचीनगर स्थित इष्ट होराइजन अंग्रेजी विद्यालय धुलाबारीले लिएको छ । मेचे परिवारको आँखा र कान सम्बन्धि कुनै समस्या आए उपचारको जिम्मेवारी इट्टाभटामा अवस्थित दिव्य आइ एण्ड इयर केयर सेन्टरले लिएको छ । डालमियाले नेतृत्व गरेको सहयोग समितिमा कविता शर्मा, टिकाराम मग्राती, मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, संगीता थापा, पुनित वशंल, बालकृष्ण ढुङ्गाना, नेत्र कार्की, सुशील आचार्य लगायतको साथ थियो । 
देवीको खाना, नाना र छानाको प्रबन्ध गर्न उनीहरुसँगै जोडिएर देश विदेशबाट सहयोग प्राप्त भएको डालमीया बताउँछन् । मेचेको घर निर्माणका लागि न्यूयोर्कमा रहेका अर्जुन मैनाली र उनका साथिहरुबाट एक लाख ५२ हजार रुपैयाँ, रुपक सेढाइ, मोनिका ओलीबाट एक लाख रुपैयाँ, शर्माले ०४२ सालमा धुलाबारी माविबाट एसएलसी दिदाँको ब्याचले एक लाख रुपैयाँ, र अन्य विभिन्न स्थानबाट सहयोग जुटेको थियो । आगामी दिनमा जीवन निर्वाहका लागि मेचेलाई पाँच लाख रुपैयाँ कोषमा राखिदिने योजना अभियान समितिले बनाएको छ । 
श्रीमानको मृत्यु पछि मेचे भाडाको घरमा बस्दै आएकी थिइन् । अर्काले दिएको खानाले जीवन धानिरहेकी थिइन् मेचे । शिशुलाई दुध चुस्न कठिन हुँदा उपचारका लागि पनि स्थानीयले नै सहयोग गरे । श्रीमानको मृत्युसँगै परिवारसँग बेखवर बनेको उनी सुनाउँछिन् । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका कृष्णको मृत्यु ज्वरो आएर भएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता