रेडपाण्डा संरक्षणका लागि ६३ लाख


ताप्लेजुङ, १६ बैशाखः लोपोन्मुख रेड पाण्डा (हाब्रे) को संरक्षण गर्न ताप्लेजुङमा सन् २०१९ को लागि ६३ लाख बढी खर्च गरिने भएको छ। ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६३ लाख ४५ हजार १५० रकम छुट्याएको हो। 
 नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्नका लागि संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ। सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। मञ्चले गत वर्ष पनि ६८ लाख ४६ हजार ३ सय रुपैयाँ खर्च गरेको थियो। 
जसअन्तर्गत ताप्लेजुङ जिल्लाका २२ सामुदायिक वनहरूका स्थापित २८ ब्लकमा ४१ जना वन अविभावक परिचालन गरी हाब्रेको वासस्थान अनुगमन तथा गस्ती गरिएको थियो। त्यस्तै, वातावरण संरक्षण शिक्षा स्थानीय पाठ्यपुस्तक अध्यापन, मौसम तथ्यांक संकलन, ५१ ग्रिडमा क्यामेरा ट्रयापिङ सर्वे, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायत कार्यक्रम गरिएको पनि राईले बताए। यसैबीच, सन् २०१९ मा भने क्यामेरा ट्रयापिङ सर्वे, पशुपालकलाई सुधारिएको गोठ तथा घुम्ती प्रणाली चरीचरणबारे तालिम, सुधारिएको गोठ स्थापना, पोखरी निर्माण, नर्सरी व्यावस्थापनलगायत काम गर्ने कार्यतालिका तय गरिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता