वडाध्यक्षकै सिफारिसमा जन्ती राख्न विद्यालय बन्द

काठमाडौं, १७ बैशाखः  धनुषाको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको कान्तिपुर दैनिकमा खबर छ ।
नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताए । ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने ।
कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए ।
शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए । ‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन् ।’
नगराइन नगरपालिका–१ को आधारभूत विद्यालय हाँसपट्टी र लक्ष्मीनियाँ गाउँपालिका–३ को जनता निमाविमा पनि विद्यालयमै जन्ती राखेर भोजभतेर गर्ने गरिएको छ । विद्यालयमा जन्ती राख्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको स्थानीय बताउँछन् ।
१० करोड माग्दै सांसद शीर्षकको अर्को समाचारमा अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्‍याउन सांसदहरुले लबिङ शुरु गरेका छन् ।
त्यस्तै सरकारी जान्दाजान्दै एनआरएनद्वारा बालुवाटारको जग्गा खरिद शीर्षकको समाचारमा बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघको समेत संलग्नता रहेको भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता