भोका भोट बैंक


  • तोयानाथ भट्टराई

इलाम स् विष्णुमाया श्रेष्ठको पाँच दशक चिया बगानमै बित्यो। तर उनलाई एक पेट खान पुग्ने पारि श्रमिक कहिल्यै मिलेन। ४७ वर्षदेखि कन्याम चिया बगानमा बिताएकी उनीसँग माटो बोकेर बिरुवा रोपेको सम्झना ताजै छ। उनी भन्छिन्, ‘मेरै हातले रोपेका बिरुवाबाट धेरैले चिल्ला गाडी चढे, हामीलाई पेटभरि खान कहिल्यै पुगेन।’
जीवनको उर्वर समय चियाको मुना टिपेर बिताएकी उनलाई सरकारले तोकेको ज्याला मात्रै पुग्छ। बगानमा व्यस्त हुँदाहुँदै उनले निकैपटक भोट हालिन्। राजनीतिक परिवर्तनको साक्षी बनिन्। तर उनले राज्यबाट केही पाइन् न परिवर्तन महसुस गरिन्। हरेकपटक चुनावमा उनीजस्ता धेरैलाई नेताले आश्वासन बाँडे। तर परिवर्तनका लागि कहिल्यै पहल नगरेको गुनासो उनको छ।
चर्को घाम, वर्षाको पानी, हिउँदको सिरेटो पचाएकी विष्णुमायाको मात्र हैन बगानकी अर्की श्रमिक तारादेवी खतिवडाको पनि पीडा उस्तै छ। खतिवडा २०२८ सालदेखिकी बगानकी मजदुर हुन्। उनले काम थाल्दा दैनिक ज्याला अढाइ रुपयाँ थियो। ४७ वर्षपछि उनको हातमा २६५ रुपैयाँ पर्छ। उनी भन्छिन्, ‘बजार भाउ अकासिएको छ, हाम्रो श्रमको मूल्य कहिल्यै बढेन।’
पति बितेपछि घर चलाउने जिम्मा समेत काँधमा बोकेकी खतिवडाले बगानबाट पाएको ज्यालाले दबाई खर्चमात्र पुग्ने दुःखेसो गरिन्। उनी पेटको रोगी हुन्। उपचारमा मासिक पाँच हजारभन्दा बढी खर्च हुन्छ। महिना मर्दा हातमा सात हजार ९ सय रुपैयाँ पर्छ। परिवार चलाउन र उपचार, पढाइ खर्च गर्दा महिनैपिच्छे ऋण थपिन्छ। उनी साथीभाइसँग सापटी लिएर गर्जो टार्छिन्। साँझ ६ बजेसम्म ओभरटाइम गरेर परिवार चलाइरहेको उनले सुनाइन्।
कन्याम चिया बगानमा सरकारको ३५ प्रतिशत र संघाई समूहको ६५ प्रतिशत सेयर छ। बगानले सरकारले तोकेको ३८५ रुपैयाँ दैनिक ज्याला दिए परिवार चलाउन सजिलो हुने उनी बताउँछिन्। जवानीदेखि चियाकै बुटामै बिताउँदै आएकी ६३ वर्षीया ओमकुमारी कटुवालले छोराछोरी र नातिनातिना बगानमै हुर्काइन्। चियामा जति समय फटाइन्, उनको सुविधा भने घट्दै गयो। गालामा बुढ्यौलीका धर्सा प्रस्टै देखिन थालेकी कटुवालले दुःखेसो पोखिन्, ‘चियाबारीमा लड्दासमेत उपचार पाउन छाड्यौं।’
गाँसबास र कपासको निककै भाषण सुनेकी उनले भनिन्, ‘हाम्रो भोकको सम्मान कसैले गरेन। उनीहरुले श्रम गर्नेलाई भोक लाग्छ भन्ने बुझिदिएको भए यस्तो दुःख हुने थिएन।’ मालिकका चिल्ला गाडी र महलमा आफ्नै पसिना देख्ने कटुवालले भनिन्, ‘युगौंदेखि अघाउने गरी खान पुग्ने मात्रै मागेका हौं तर कसैले सुनेन।’
७५ महिला र १६ पुरुष स्थायी श्रमिक रहेको कन्याममा ८० जना ज्यालादारी छन्। सबैको दुःख समान छ। उनीहरूकै दुःख देखेर नयाँ पुस्ता चिया बगानमा काम गर्न चाहँदैन। माग राख्ने श्रमिकलाई बगान प्रशासनले सरुवा गरिदिने र अनावश्यक दुःख दिने गरेकाले पनि कतिपयले मुख खोल्न नसकेको अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला उपाध्यक्ष विष्णु भट्टराई बताउँछन्।
अर्का मजदुर घनश्याम तामाङ परिवार चलाउनै समस्या परेको अवस्थामा राजनीतिक दलहरुले मजदुरलाई भोट बंैकका रुपमा मात्र प्रयोग गरेको बताउँछन्। चुनावताका बाक्लै देखिने दलका अगुवाहरु मजदुर संकटमा परेका बेला परपर हुने गरेको तामाङको अनुभव छ। उनले भने, ‘हामीले व्यवस्था परिवर्तनको आभास गर्न पाएनौं।’
वेतन वृद्धि र सुविधाका लागि पहल गर्न नसकेका दलहरु दुःखको समयमा पनि तर्किन खोज्ने श्रमिकको बुझाइ छ। कतिपय दलका नेता त चिया कारखानाको मालिकका पक्षमा उभिन्छन्। इलामका चारवटै बगानमा श्रमिकका लागि स्वास्थ्य, शिक्षा, बसोबासको सामान्य प्रबन्धसमेत नगरेको प्रति मजदुरको गुनासो छ। सामान्य कुरासमेत कटौती गरेको बगान प्रशासनले सरकारलाई समेत हल्लाउने गरेको नेपाल चिया बगान श्रमिक संघ महिला उपाध्यक्ष नर्वदा निरौलाले बताइन्।
४६ वर्षदेखि काम गर्दै आएका मजदुर पनि विकल्प नपाउँदा जीवनका अन्तिमसम्म चियाबगानमै छन्। उनीहरुको जीवन झनै टीठलाग्दो छ। कन्याम चिया कारखाना बनाउँदा गिटी बोकेको अनुभव सुनाउने माया तामाङले भनिन्, ‘धेरै चुनाव हेरियो तर हाम्रो दुःख बुझ्न कोही आएन।’ उनले बगानले कम वेतन दिएकाले काम हुँदा आफू पनि गाउँमै काम खोजेर गुजारा गर्ने गरेको बताइन्। निजी चिया बगानमा श्रमिकले दैनिक पाँच सयसम्म ज्याला पाउँछन्।
केही वर्षअघि १३५ चिया मजदुर लाइन लागेर काम गरेको देखिने इलाम सदरमुकामको चिया बगानमा अहिले २६ जना मात्र स्थायी कर्मचारी छन्। बगान छोडेका कामदारले दैनिक पाँच सय कमाउँछन्। सिजनमा बगानकै मजदुर पनि गाउँका निजी बगानमा चिया टिपेर दैनिक पाँच सय कमाउने गरेका छन्। कतिपयले काम नहुँदा मात्र बगानमा आउने गरेको बताए।
जिल्लाका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट चार सय ४६ भन्दा बढी मजदुर विस्थापित भए। सरकारी स्वामित्वमा रहेका यी चिया बगान र कारखानामा २०५७ सालमा आठ सय ५८ जना मजदुर कार्यरत थिए। २०५७ सालमा चिया बगान र कारखाना निजीकरणसँगै मजदुर विस्थापित भएका छन्। निजीकरणपछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा कटौती ग¥यो। अनि परिवार पाल्न नसक्ने भएकाले मजदुरले चिया बगान छोड।
देशकै ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला ९० मजदुर कार्यरत छन्। कुनै बेला यहाँ चार सय ७३ स्थायी मजदुर थिए।
एक सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा २६ जना मात्र छन्। सोक्तिम, चिलिमकोट चिया बगानमा पनि थोरै मजदुर मात्र स्थायी छन्। विस्थापित मजदुर भारतका दार्जिलिङ, सिक्किम र खाडी मुलुकमा पुगेको टेड युनियन काग्रेस इलामका अध्यक्ष फुयालले बताए।

सधैं गलाएर सहमति

वेतन वृद्धिसहितका माग उठाउँदा मजदुरलाई गलाएर सहमतिमा ल्याउने रणनीतिको सिकार बनेका छन् चिया विकास निगमअन्तर्गतका मजदुरहरू।तीन वर्षअघि ६ महिनासम्म चलेको आन्दोलन पनि त्यसै सेलाएको थियो। व्यवस्थापनले आन्दोलनरत श्रमिकले अलैंची र चिया चोरी गरेको भन्दै अदालतमा मुद्दा हालेपछि आन्दोलन रोकिएको थियो।
मजदुरको पहुँच कारखानाको मालिकसम्म नपुग्ने र बगानका म्यानेजरले माथिल्लो निकायलाई देखाउने गरेकाले मजदुरहरू मारमा परेको नेपाल चिया वगान श्रमिक संघ महिला उपाध्यक्ष नर्वदा निरौलाले बताइन्।
उनले चिया टिप्न बन्द गरेर सडकमा आएका मजदुरलले न्यूनतम सुविधा नपाएसम्म आन्दोलन जारी रहने बताइन्। चिया मजदुर र मालिकबीचको सहमति जुटाउन संघीय सरकारले गत भदौमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल गठन गरेको थियो। कार्यदलले फागुनमा प्रतिवेदन बुझाएको छ। सरकारले प्रतिवेदन पाए पनि अध्ययन नगरेको मजदुरको आरोप छ।
मजदुरहरुले न्यूनतम ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गरेका छन्। कारखाना सञ्चालक भने सरकारले तोकेको ज्याला दिन नसक्ने बताउँछन्। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा आन्दोलन घोषणा गरेपछि चियाको फस्ट फ्ल भे खेर जाने भएको छ।
मजदुर विष्णुमाया मुखिया भन्छिन्, ‘चियाको माया हामीलाई पनि छ, खान पुग्ने बजेट दिए काममा फर्कनेछांै।’ सरकारले गत साउनदेखि लागू हुने गरी चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ तोकेको छ।
अन्नपूर्णबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता