इलाम । उमेर केवल अंक मात्रै हो भन्ने प्रमाण बनेकी छिन् इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी दाहाल। ८० वर्षको जीवन अनुभवसहित अझै पनि सक्रिय नेतृत्व सम्हालिरहेकी उहाँलाई यस वर्षको ‘शी लिड्स आइकन २०२५’ अन्तर्गत प्रेरणादायी ३१ महिला जनप्रतिनिधिमध्ये एकका रूपमा छनोट गरिएको छ।
महिलाको सुकर्मलाई उजागर गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यस कार्यक्रममा कोशी प्रदेशतर्फ सबैभन्दा पहिला नाम घोषणामा इलामकी दाहाल परेकी हुन्।
कल्प इम्पावर वुमन नेपालले महिलाको राजनीतिमा सहभागिता प्रवर्द्धन गर्ने अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको हो। गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न पहिलो संस्करणपछि यसपटक दोस्रो संस्करणमा सातै प्रदेशका महिला नेतृहरूलाई छनोट गरिएको छ।
यस वर्ष देशभरबाट १३१ आवेदन परेकामध्ये १११ औपचारिक रूपमा स्वीकृत भएकोमा निर्णायक मण्डलले सात प्रमुख/अध्यक्ष र २४ उपप्रमुख/उपाध्यक्षलाई छनोट गरेको हो। निर्णायकमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार रणनीतिज्ञ चारु चड्डा र लैङ्गिकता विशेषज्ञ सरु जोशी रहेका थिए।
कोशी प्रदेशबाट इलामकी विष्णुकुमारी दाहाल (इलाम), प्रमिला राई (भोजपुर), विपना कुलुङ (सोलुखुम्बु) र सविता राई (सोलुखुम्बु) छनोट भएका छन्।
आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाले छनोटमा परेकालाई भदौ १६ गते एकदिने तालिम, भदौ १७ गते सञ्चारकर्मीसँग अन्तरसंवाद तथा कथा, अन्तरवार्ता र डकुमेन्ट्रीमार्फत प्रवर्द्धन गर्ने कार्यक्रम राखिएको बताइन्। पुस १८–२० मा काठमाडौंमा ‘महिला जनप्रतिनिधि उत्सव’ र पुस २२ मा ३१ मध्ये सात जनालाई ‘शी लिड्स आइकन २०२५’ को उपाधि प्रदान गरिनेछ।
८० वर्ष टेकेर पनि स्थानीय तहमा जनताको विश्वास बोकेर काम गरिरहेकी दाहाल आज देशभरका लागि प्रेरणाको स्रोत बनेकी छिन्।
0 comments:
Post a Comment