जग्गा प्रकरणमा मुछिएका जोकोहीलाई कारबाही हुनुपर्छ– केसी

झापा, २० वैशाखः नेपाली कांगे्रसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले बालुवाटार जग्गा प्रकरणमा जोकोही मुछिए पनि तत्काल कारबाही गर्न माग गरेका छन् । प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिए पनि कानुनि सजाय भोग्न तयार हुनुपर्ने बताएका हुन् । 
बिहीबार प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलन नेता केसीले बालुवाटार जग्गा घोटालामा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन सरकारले चुक्न नमिल्ने बताए । नेता केसीले बालुवाटारसँगै देशभरका सरकारी जग्गाको अवस्थाबारे पनि सरकारको ध्यानकर्षण हुन आवश्यक रहेको जनाए । 
नेता केसीले वर्तमान सरकार काण्डै काण्डको भुमरीमा परेको बताउँदै सरकार गैरजिम्मेवार तवरले चलेको आरोप समेत लगाए । अपराधिक घटना न्यूनिकरण हुनुको साटो पछिल्लो समय हत्या, हिंसा, बलात्कार लगायतका घटनाले नागरिकलाई थप आतंकित बनाउँदै लगेको तर्क गरे । राष्ट्रियताको नारा धन्काउँदै हिड्ने सरकार कै पालामा राष्ट्रिय परिस्थिति हरेक दृृष्टिकोणले गम्भीर बन्नु दुखद् पाटो बनेको केसीको भनाई छ ।
सम्पूर्ण शक्ति प्रधानमन्त्रीले आफ्नो हातमा लिएको जिकिर गरेका केसीले ओली नेतृत्वको सरकारले देशलाई भन्दा पार्टी र कार्यकर्तालाई माथि राखेर एकदलीय रुपमा अघि बढेको बढेकाले सरकार आफ्नै गल्तीले ढल्ने दाबी समेत गरे । लोकतन्त्रको आवरणमा स्वतन्त्र न्यायपालिकामाथि पनि एकपछि अर्को गर्दै हस्तक्षेप गर्ने काम सरकारबाट हुनु लाजस्पद विषय बनेको बताए । 
प्रधानमन्त्री कै जिल्लामा मजदुर भोकै
नेता केसीले विगत एक महिनादेखि आन्दोलनमा रहेका चिया मजदुरलाई सरकारले बेवास्ता गरेको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा सबै भन्दा धेरै मजदुर भोक भोकै आन्दोलनमा बस्दासमेत सुनुवाई नहुनुले सरकार मजदुर प्रति उत्तरदायी या छैन भन्ने प्रष्ट भएको तर्क गरे । “प्रधानमन्त्री ओलीको भाषण सुन्दा विकसित देशमा छु भन्ने भान हुन्छ”, केसीले प्रश्न गरे, “प्रधानमन्त्री ज्यू  आफ्नै गृह जिल्लामा मजदुर एक महिना भन्दा बढि भोकै बसेको खै देख्नुभएको ?” 
राजपत्रमा तोकेको न्यूनतम पारिश्रमिक उद्योगले नदिदाँ सडकबाट माईक बजाएर कराउँदैै कुदिरहेका छन् प्रधानमन्त्री भने, कोही नागरिक भोकै भए फोन गरेर सरकारलाई जानकारी दिदाँ हुन्छ भन्नु हुन्छ । मजदुर र सरकारको तालमेल किन मिल्दैन यस तर्फ पनि ध्यान दिन आवश्यक छ । मजदुरको समस्या चाँडो अन्त्य नगरे मजदुर आन्दोलनको रुप परिवर्तन भई झनै ठुलो समस्या सृजना हुनेमा सरकार गम्भिर बन्नुपर्ने उनको सुझाव थियो । 
मजदुरको समस्या समाधानमा ढिलासुस्ती गरे आन्दोलनको रुप परिवर्तन हुन सक्नेमा सरकार गम्भीर हुनु पर्ने सुझाव नेता केसीले दिए । नेता केसीले प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर भएको तर्र्क गर्नु ठिक भएको बताए । उनले भने, “कांग्रेस कम्युनिस्ट जस्तो माइक  भाँच्ने, कुर्सी फ्याँक्ने काम गर्दैन सरकारको वास्तविकता नागरिकले बिस्तारै बुझ्ने छन् ।” 
कांग्रेसमा रहेको समस्या नेता कार्यकर्ताले खुलेर बोल्न पाउनु पर्ने नेता  केसी बताउँछन् । पार्टीले राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउने नाममा पार्टी हित विपरीत अभिव्यक्ति नदिन निर्देशन दिएको थियो । समस्या बताउँदा पार्टी हित विपरीत नहुने बताएका केसीले पार्टी नेतृत्वको विषयमा खुलेर अभिव्यक्ति दिन पाउनु पर्ने अधिकार सबैलाई रहेको बताए । पार्टी सञ्चालनमा भएका त्रुटिलाई सच्याउँदै लैजानुपर्ने चुनौती नेतृत्व तहलाई रहेको धारणा उनले राखे । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता