पशुपतिनगर भन्सार कार्यालय काम चलाउ मात्र, वर्षेनी राजश्व संकलन घट्दो क्रममा

  • गणेश घिमिरे, 

इलाम । जिल्लाको पूर्वी नाका पशुपतिनगर भन्सार कार्यालयमा चालु आर्थिक बर्ष (आव) मा लक्ष्य अनुसार राजश्व संकलन नहुने देखिएको छ । यस क्षेत्रबाट आयात निर्यात हुने सामग्री घटेसँगै राजस्व असुली लक्ष्य अनुसार संकलन नहुने देखिएको हो ।
चालु आवमा कार्यालयले एक करोड ७४ लाख ८८ हजार रुपैंयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । तर आर्थिक बर्ष सकिन अब करिब अढाई महिना बाँकि हुँदा जम्मा एक करोड ९ लाख ४० हजार ६ सय २१ रुपैंयाँ मात्र संकलन भएको छ । गत आवमा जम्मा ८४ लाख ५६ हजार ९ सय ५१ रुपैंयाँ मात्र संकलन भएको थियो । गत आवको हालसम्म ६२ लाख १२ हजार ७ सय ४६ रुपैंयाँ संकलन भएको थियो । साडे तीन महिना लामो भारत दार्जिलिङ्ग आन्दोलनका कारण पनि राजस्व असुलीमा कमी आएको बताइएको छ । गत आवमा पनि भन्सारले एक करोड ७४ लाख ८८ हजार रुपैंयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
मेची पहाडमा उत्पादित सामग्री निर्यात गर्ने क्रम झापा काँकडभिट्टा नाकाबाट बढेको र दार्जिलिङ तर्फबाट पनि कम सामग्री मात्र नेपाल भित्रिने गरेकाले पशुपतिनगर भन्सारमा राजश्व संकलन लक्ष्य अनुसार संकलन हुन नसकेको कार्यालयका नायब सुब्बा अच्युतनन्द ढकालले बताउनुभयो । यो नाका मुख्य गरी भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा राजस्व संकलन भएर टिकेको छ । पशुपतिनगर भन्सार कार्यालयको मातहतमा मानेभञ्ज्याङ, छब्बिसे र छिरुवा छोटी भन्सार कार्यालय छन् ।
निर्यातजन्य सामग्रीका लागि पशुपतिनगर नाकालाई नेपालतर्फबाट स्थापित गर्न खोजिए पनि व्यापारीहरूको सीधा सम्पर्क बिर्तामोड र काँकडभिट्टामा बढदै जाँदा पनि पशुपतिनगर नाकाले मार खेप्नुपरेको हो । यो भन्सारले वार्षिक १० करोड रुपैयाँसम्म भन्सार असुलेको इतिहास छ ।
पशुपतिनगरसहित यी नाकालाई प्रभावकारी बनाउन सरोकारवालाले माग गरेका छन् । इलामसहित पूर्वी पहाडमा उत्पादित सामग्रीलाई भारत निकासी गर्न र आवश्यक सामग्री आयातका लागि यहाँको भन्सारलाई व्युँताउन पटकपटक माग हुँदै आए पनि सुनुवाइ हुन सकेको छैन । यो भन्सार सक्रिय भए यहाँका बासिन्दालाई लामो सडक दूरीको हैरानी घट्नुका साथै पशुपतिनगर फिक्कललगायतका बजारलाई प्रत्यक्ष फाइदा पुग्ने स्थानीय मिलन क्षेत्री बताउनुहुन्छ ।
यस नाकाबाट सामान्य सामग्री मात्र आयात निर्यात हुने भएकाले भन्सार कार्यालय कामचलाउ भूमिकामा मात्र सीमित छ । भारतले नाकामा चेकपोस्ट मात्र राखिदिएकाले ठूलो मात्रामा सामाग्री भारत निर्यात र आयात हुन सक्दैन । यहाँको विकल्पमा भारतले पानीटेंकी नाकालाई प्रयोगमा ल्याउन थालेपछि पशुपतिनगरको चाम घटेको हो ।
नेपालतर्फ भन्सारसहित पशुक्वारेन्टाइन सञ्चालित छ । सीमा नाकामा भारतीय सीमा सुरक्षा बल आउनुअघि आपसी सहमतिका आधारमा काँकडभिट्टावाट कागजात बनाएर ठूलो परिणाममा सामग्री ल्याउने लैजाने गरिएको स्थानीय बताउँछन । अहिले यो नाकाबाट सामान्य दाल, चामल, कत्ताकपडा आयात हुन्छ भने सागसब्जी, घिउ, छुर्पीलगायतका सामाग्री मात्र निर्यात हुने गरेको छ ।
 नेपाल समाचारपत्रबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता