बाढीपहिरो अपडेट : अहिलेसम्म ६७ को मृत्यु, ३२ जना बेपत्ता, ३९ घाइते

काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच/पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार/चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन/तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई/दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक/एक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् ।
बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन/तीन, महोत्तरी र मकवानपुरमा दुई/दुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक/एकजना बेपत्ता भएका छन् ।
विपद्मा परी ३९ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रभावित जिल्लाबाट एक हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता