
इलाम, २६ मंसिरः सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । यो गीतको अडियो कर्णप्रिय छ । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ ।
गीतको भाव अनुसार भिडियो पनि तयार पारिएको छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् ।
भिडियोको छायांकन विभिन्न ५ वटा लोकेशनमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएको छ ।
शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ ।
सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् । चलचित्रको स्थानिय व्यवस्थापकको रुपमा केवल तामाङ र हरि गुरुङ छन् । यो चलचित्र फागूणको २३ गतेबाट नेपालभर रिलिज हुनेछ ।
हेर्नुहाेस् भिडियाे