इलामको माइजोगमाई दोभानमा माइबेनी मेला शुरु, हज्जारौंको सहभागीता

माइबेनी, १ माघः माघे संक्रान्तिको अवसरमा इलाममा माइबेनी मेला सुरू भएको छ । इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा मंगलबारदेखि मेला सुरू भएको हो । 
तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लाग्न थालेको मेला आयोजक समितिले जनाएको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण बेनी मेलामा मकर नुहाउनसमेत जाने गरेका छन् । यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौं सर्वसाधारण एक सातादेखिनै माईबेनी आइपुगेका छन् । सदरमुकामबासीको पनि यस बर्षको मेलामा उल्लेख्य उपस्थिति रह्यो । मेलामा मकर नुहाउने, पूजाआजा गर्ने, बली चढाउने, परेवा उडाउने, ब्यापार गर्ने र रमाइलो गर्न जानेको भीड विगतका बर्षहरुमा भन्दा उल्लेख्य देखिन्थ्यो । मेलामा भएको जनसहभागीता देखेर स्थानीयले मेला लोप हुने डर हराएको प्रतिक्रिया दिएका छन् । इलाम जिल्लाको नामसालिङ र गोदक गाविसअन्तर्गत माईबेनीमा यो मेला वर्षौअघिदेखि लाग्दै आएको छ । 
माईबेनीबाट इलामबजारतर्फ फर्कदा दुई घण्टाको पैदल हिँडेर बेनीमार्गबाट राईगाउँ, तिल्केनी हुँदै इलामबजार आउन सकिन्छ भने यसबर्षेदखि तिल्केनीमोड देखि गाडीको समेत व्यवस्था गरिएकोले तिर्थालुलाई सहज भएको छ भने पैदल यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । स्थानीय जिप व्यवसायीहरुले एकोहोरो माइबेनीसम्मको भाडा १५० तोकेका छन् । माइबेनी पुग्न गोदकबाट समेत माईबेनीसम्म ट्याक्सीको सुविधा पनि छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न तीन दिन अघिदेखिनै कडा सुरक्षा प्रबन्ध मिलाएको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले समेत माइबेनीमा उपस्थिति भएका छन् ।  
माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच भएको छ । मेलामा दुई सयभन्दा धेरै अस्थायी पसल खोलिएका छन् । मेलाबाट संकलन भएको रकम त्यस क्षेत्रका विकासमा खर्च गरिने आयोजकले जनाएको छ । सौर्यमानको हिसावले माघ महिना आरम्भ हुने पहिलो दिनलाई माघे सक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यसै दिनदेखि सूर्यको उत्तरायण सुरू हुन्छ । माघे सङ्क्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरूल कन्दमूल खाने परम्परा रहेको छ । हिन्दू धर्ममा उल्लेख भएअनुसार यस दिनको नदीस्नान उत्तम मानिन्छ, मकर सङ्क्रान्तिको दिन सूर्योदय हुनु पूर्वको नदीस्नान अझ उत्तम मानिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता