चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता कहिले ल्याइन्छ ? सरकारसँगै छैन जवाफ


  • रिया भण्डारी

काठमाडौं, २४ माघ । कोरोना भाइरस प्रभावित चीनको हुबेइ प्रान्तमा रहेका नेपालीलाई स्वदेश ल्याउने भनिएको नै एक साता हुन लाग्यो ।
प्रधानमन्त्रीले कार्ययोजनाअनुसार काम गरेर तत्काल ल्याउन निर्देशन दिएको पनि ३ दिन बित्यो । तर, सम्बद्ध कुनै पनि मन्त्रालयसँग ‘कहिले ल्याइन्छ ?’ भन्ने प्रश्नको जवाफ छैन । यसले हुबेइका नेपालीको स्वदेश फिर्ती चर्चामै सीमित हुने त होइन भन्ने शंका बढाएको छ ।
स्वदेश फर्कन चाहेको भन्दै बेइजिङस्थित नेपाली दूताबासले १९ गते १८० जनाको सूची नै सार्वजनिक गर्यो । आज\भोलि नै ल्याइने भनिएका ति अझै चीनबाट हारगुहार गरिरहेका छन् ।
यता, हुवेईमा रहेका विशेषतः विद्यार्थीका अभिभावक विभिन्न मन्त्रालय धाएर तिनलाई तत्काल फर्काउन माग गरिरहेका छन् । तर, हुवेईमा रहेका नेपालीलाई कहिले फर्काइन्छ भन्नेमा सरकारी निकाय नै अनभिज्ञ छन् ।
स्वास्थ्य, गृह, रक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीलाई सोध्दा ति आफ्नोतर्फको तयारी सकिएको दावी त गर्छन । तर, प्रक्रिया कहाँ पुग्यो, के भइरहेको छ भन्ने स्पष्ट भन्न सक्दैनन् ।
हुवेइमा रहेका नेपालीलाई कहिले फर्काइन्छ भनेर सोध्दा स्वास्थ्य मन्त्रालयका अधिकारी आफ्नो काम ल्याएपछि उपचार गर्ने हो, उपचारको सम्पूर्ण तयारी पूरा भएको छ, ल्याउने जिम्मेवारी हाम्रो होइन भन्छन् ।
स्वास्थ्यपछि हामीले नेपालीलाई कहिले फर्काउने हो, ल्याएर कहाँ राख्ने ? भनेर सोध्यौं । गृहमन्त्रालयका अधिकारीले त्यसबारे आफूलाई केही जानकारी नै रहेको भन्दै स्वास्थ्य मन्त्रालयमै सोध्न सुझाव दिए ।
सोही प्रश्न सोध्दा उद्दार गर्ने मुख्य जिम्मेवारी रहेको भनिएको परराष्ट्र मन्त्रालयका अधिकारीले आफ्नोतर्फको सम्पूर्ण तयारी पूरा भएको तर कहिले ल्याइन्छ भन्ने जानकारी नभएको जवाफ दिए । उनले पनि अन्य निकायलाई सोध्नुस भने ।
स्वास्थ्य, गृह, परराष्ट्र मन्त्रालयका अधिकारीसँग राखेकै जिज्ञाषा रक्षा मन्त्रालयमा राख्दा उनीबाट पनि ठोश उत्तर आएन् । अन्तिममा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गुहा¥यौं । प्रवक्ता यमलाल भुसालले गृह र स्वास्थ्य मन्त्रालयलाई नै सोध्नु पर्ने बताए ।
प्रधानमन्त्रीले रक्षा, परराष्ट्र, गृह, स्वास्थ्य मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको र ल्याएर राख्ने ठाउँ पनि निश्चित भइसकेको दावी गरिएका बेला ति मन्त्रालयका अधिकारी यसरी जिम्मेवारीबाट पन्छिरहेका छन् । यसले चर्चा गरिएजस्तो तत्काल चीनबाट नेपाली उद्दार गर्न हाम्रा सरकारी निकाय तयार छैनन् भने स्पष्ट हुन्छ ।
न्युज24बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता