स्पेन र इटालीमा मृतकको सङ्ख्या निरन्तर घट्दै, लकडाउन पनि खुकुलो हुँदै

एजेन्सी, १५ वैशाख । कोरोनाभाइरस (काेभिड-१९) काे महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।
स्पेनमा गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ । आइतबार स्पेनमा कोरोना संक्रमणका कारण २८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो । शनिबार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।
अनुमति पाएपछि खुल्ला वातावरणमा रमाउँदै स्पेनका बालबालिका
कोरोना कहर कम हुँदै गएपछि त्यहाँ बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति समेत दिइएको छ । आइतबार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएर खुल्ला हावामा स्वास लिँदै रमाए ।
लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको हो ।
इटालीमा पनि खुकुलाे पार्ने तयारी
उता इटालीमा पनि कोरोना भाइरसका नयाँ केस र दैनिक मृत्युसंख्या घट्दै गएको छ । यससँगै त्यहाँका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन् ।
टेलिभिजन सम्बोधनमा कोन्टेले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए । उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन् । पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्न पाउने छैनन् ।
इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु पनि इटालीमै भएको छ । इटालीमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण २६० काे मृत्यु भएकाे छ ।
अहिलेसम्म इटालीमा कोरोना भाइरसका कारण २६ हजार ६४४ जनाको ज्यान गइसकेको छ भने स्पेनमा २३ हजार १९० जनाको ज्यान गएको छ । (बिबिसीकाे सहयाेगमा)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता