मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरिदै, संक्रमित हेरेर पाँच भागमा वर्गीकरणको योजना तयार


काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या प्रत्येक घण्टामा औसत दश जनाका दरले बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाल जोखिमयुक्त रहेको नै बताउँदै आएको छ ।
सरकारले हालको अवस्थालाई मध्यनजर गरेर योजना बनाउन नसकेको आलोचना बढेको छ । पछिल्ला दिनमा संक्रमित गुणात्मकरुपमा बढ्दै जानुले सरकारको कार्यशैलीमा प्रश्न उठेको छ ।
बुधबार मात्र स्वास्थ्य मन्त्रालयले आगामी जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य संकटकाल अर्थात हेल्थ इमर्जेन्सीको प्रस्ताव अघि सारेको छ । के नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने बेला भएकै हो ? वा ढिलो भयो । विज्ञहरुको फरक–फरक तर्क छ ।
केहीले संकटकाल घोषणा गर्न सरकारले ढिलाई गरेको बताएपनि केहीले अब समय आएको बताएका छन् । दुई हजारभन्दा बढी कोरोना संक्रमितको संख्या भेटिएपछि चिन्ता सुरु भएको छ ।
हालै मात्र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकालको प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद् बैठकले यो प्रस्ताव स्वीकृत गरे नेपालमा स्वास्थ्य संकटकाल लागू हुनेछ ।
के हो स्वास्थ्य संकटकाल ?
संक्रामक रोग ऐन २०२० को दफा २ मा विशेष व्यवस्था गर्ने अधिकार उल्लेख छ ।
दफा २ (१) मा नेपालभर वा कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
उपदफा (२) : नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार दिन सक्नेछ ।
यही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य संकटकाल घोषणा गर्ने आधार :
  • – संक्रमणको रफ्तार बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति अपुग हुने अवस्था ।
  • – दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे ।
  • – संक्रमितहरु बढ्दै जाँदा व्यवस्थितरुपमा क्वारेन्टिनमा राख्न नसक्ने अवस्था ।
स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ ।
मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ भएकालाई पाँच भागमा बाँडिएको छ । जसमा लक्षण नभएका, हल्का, मध्यम, गम्भीर र नाजुक छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता