बीरगञ्जमा डेढ र तीन बर्षका दुई बालकसहित ११ संक्रमित निको भए


वीरगञ्ज ८ असार । वीरगञ्जमा २ जना बालक र उनीहरुकी आमा सहित ११ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन । वीरगञ्जको अस्थायी कोभिड नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले दुई बालकसहित ११ जना संक्रमितलाई आज डिस्चार्ज गरेको छ ।
डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र तीन वर्षका दुई जना बालक रहेका छन् ।

दुई जना बालकमा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टाइनमा बस्दा काखे बालकलाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो ।
वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनै जना सखुवा प्रसौनीस्थित क्वारेन्टाइनमा ५ दिन बसेका थिए । संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा ६ दिन बसेपछि उनीहरुको पीसीआर परीक्षण पछिको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा उदय नारायण सिंहले बताउनु भयो ।
गण्डक कोभिड अस्पताललमा अहिले ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् । पर्सामा हालसम्म २ जना पत्रकार, ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय नागरिक समेत गरी १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता