चीनमा दाेस्राे लहरकाे काेराेना फैलिने त्रास, बेइजिङमा लगाइयाे कडा प्रतिबन्ध

एजेन्सी, २ असार । चीनमा लगातार कोरोना संक्रमितको संख्या थपिन थालेपछि चीनकाे राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार २४ घन्टाको अवधिमा चीनमा ४० जना नयाँ संक्रमित थपिएका छन् ।
चीनमा पछिल्लो तीन दिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार पनि चीनमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।
दैनिक संक्रमित बढ्न थालेकोपछि बेइजिङमा लकडाउन अझ विस्तार गरिएको हाे ।पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी काेराेनाका संक्रमित भेटिएक छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् ।
बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिका थिए । त्यसपछि शनिवारदेखि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ ।
उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने र उक्त बजार पुगेका करिब दुई लाख सर्वसाधारणलाई सम्पर्क गरिएको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ।
यसअघि गत साता बेइजिङमा रहेको एक खाद्य बजारमा कोरोना संक्रमण पाइएको थियो । सिनफाडी नामको सो बजार संक्रमित पाइएपछि बन्द गरिएको छ ।
खेल र मनोरञ्जनका लागि प्रयोग गरिने इन्डोर भेन्यू सञ्चालनमा रोक लगाइएको छ । विद्यालयहरू पनि बन्द गरिएको छ । राजधानी बेइजिङमा सङ्क्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ ।
गत वर्षको डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता