झापामा लकडाउनको मौका छोपी कालोबजारी र मूल्यवृद्धि अकासिँदै, नाम मात्रकाे अनुगमन


झापा, २५ जेठ । झापामा पछिल्लो समय लकडाउनको मौका छोपेर कालोबजारी गर्ने र बढी मूल्य लिएर सामग्री बिक्री गर्ने क्रम बढेको छ । विशेषगरी दैनिक उपभोग्य, खाद्य सामग्री र सुर्तीजन्य पदार्थमा व्यापक मूल्यवृद्धि र कालोबजारी भइरहेको उपभोक्ताको गुनासो छ ।
लकडाउनको मौका छोपेर झापाका बजारमा मूल्य वृद्धि र कालोबजारी मौलाएको छ । लकडाउनका बेला सीमित समय मात्र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका पसल खुल्ने गरेका छन् । जसका कारण पसलहरुमा भीड बढ्दा व्यापारीले चामल, दाल, तेललगायतका खाद्यान्न सामग्रीमा आफुखुसी मूल्य राखेर बिक्री गर्ने गरेका छन् ।
खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दाबी गरे पनि बजारमा मूल्य वृद्धि भने अकासिएको उपभोक्ताको गुनासो छ । ‘हरेक पसलले सामानको भाउ बढाएका छन्,’ बिर्तामोडकी अनुसा चुडालले भनिन्, ‘८० रुपैयाँ पर्ने पास्तालाई २ सय रुपैयाँसम्म लिने गरेका छन् ।’
एक दिन बिराएर बिहान केही घण्टा मात्रै पसलहरु खुल्ने र सो समयमा अनुगमन समेत खासै नहुने भएपछि कालोबजारी गर्नेहरु निर्धक्क देखिएका छन् । सुर्तीजन्य पदार्थसमेत साविकभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको पाइएको छ । ‘अवैध भारतीय सुतीजन्य पदार्थ खुलेआम बिक्री भइरहेको छ,’ बितोमोडकै हरि सुबेदीले भने, ‘गुट्खा, खैनीको भाउ त दोब्बर बढेको छ ।’
सामग्रीको बिल माग्दा दिँदैनन्
झापामा अधिकांश होलसेलर तथा ठूला व्यापारीले हरेक सामानको मूल्य बढाएका छन् । तर, अधिक मूल्य लिएको प्रमाण लुकाउन उनीहरुले सामानको बिल नदिने गरेको खुद्रा व्यापारी अमित शाहको भनाइ छ । ‘होलसेलमै सामानको बढी मूल्य पर्छ, किन बढेको ? बिल दिनुहोस् भन्दा नलैजा भन्छन्,’ शाहले भने, ‘हामी खुद्रा व्यापारीले अलिकति नाफा राखेर बेच्दा सामानको दाम महंगाे परिहाल्छ ।’
यसरी बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य अकासिएको भए पनि नियमनकारी निकायको अनुगमन प्रभावकारी हुन सकेको छैन । सर्वसाधारण कासिएको मूल्यका कारण आजित हुँदा समेत नियमनकारी निकाय मौन छन् ।
लकडाउनको मौका छोपेर व्यापारीले ५० प्रतिशतसम्म वृद्धि गर्दा समेत सरोकारवाला निकायले कुनै चासो देखाएको छैन । जिल्लास्थित बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय झापा र घरेलु कार्यालय झापाले पनि लकडाउनमा कालाबजारी तथा मूल्य वृद्धि बढेको स्वीकार गरेका छन् ।
नाम मात्रकाे अनुगमन
बजार अनुगमन टोलीले हालसम्म ४३ पटक बजार अनुगमन गरिसकेको छ । तर मूल्यवृद्धि अनियन्त्रित छ । हाल बजार अनुगमनलाई समेत तिव्रता दिइएको बजार अनुगमन टोलीका सदस्यसचिव समेत रहेका घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख छविलाल खतिवडाले बताउनुभयो ।
लामो समयदेखि कायम रहेको लकडाउनको मौका छोपेर झापाका केही व्यापारीले मनोमानी रुपमा बस्तुको मूल्यवृद्धि गरी उपभोक्ताबाट रकम असुल्ने गरेका छन् । व्यापारीबाट ठगिएर नियमनकारी निकायमा पुगेका उपभोक्ताले भने उल्टो धम्की खाएर फर्किनु परेको छ । कर्मचारीले व्यापारीको अनियमितालाई कमाइखाने भाँडो बनाउँदा उपभोक्ता थप पीडित बन्न बाध्य छन् ।
उल्टै मुद्दा लगाउने धम्की
उपभोग्य वस्तुकाे मूल्य कासिएपछि उपभोक्ताले सरोकारवाला निकायमा गुनासो गरे पनि कमर्मचारीले पीडितलाई उल्टै मुद्दा लगाउने धम्की दिने गरेको खुलेको छ ।
गत मंगलबार झापा चारआलीका नारदमुनी सुवेदीले बिर्तामोडस्थित पशुपति टेडिङ सेन्टरले प्रतिबन्डल २ हजार ४ सय ९५ रुपैयाँ पर्ने सूर्य चुरोटलाई २ हजार ७ सय र १ हजार ७ सय ५० पर्ने खुकुरी चुरोटलाई २ हजार १ सय रुपैयाँ असुलेको र आफूलाई बिल समेत नदिएको भन्दै घरेलु तथा साना उद्योग कार्यालय झापा र जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेका थिए ।
खबरलगत्तै बढी मूल्य असुल्ने पसल पुगेका घरेलु र प्रशासनका कर्मचारी टोलीले सुवेदीले खरिद गरेको उक्त सामान समेत बरामद गरी पसलका सञ्चालक मोहन अधिकारी र पीडित सुवेदीलाई दिउँसो घरेलु तथा साना उद्योग कार्यालय झापामा उपस्थित हुन निर्देशन दिएका थिए । लगत्तै कार्यालय पुगेका पीडित सुवेदीलाई घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख छबिलाल खतिवडा र जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले लकडाउनका समयमा अखाद्य वस्तु खरिद गरेको र बिलबिनै मौखिक उजुरी गरेको भन्दै उल्टै कानूनी कारवाही गर्ने धम्की दिए ।
पीडित सुवेदीसँगै केही पत्रकार समेत आएको थाहा पाएपछि कर्मचारीद्वय खतिवडा र खरेलले निवेदन लेख्न लगाएको पीडितको भनाइ छ । ‘मलाई दिउँसो फोन गरेर कार्यालयमा बोलाउनुभयो,’ सुवेदीले भने, ‘कार्यालयमा बोलाएर लकडाउनमा किन हिँडेको ? यो बेला यसरी अखाद्य वस्तु किन्ने ? अब तिमीलाई पनि कारवाही हुन्छ भनेर धम्क्याउनुभयो ।’
उनले बिल बिना बढी मूल्य लिएर सामान बेचेको जानकारी गराउँदा समेत आफूलाई नै कर्मचारीले दुःख दिएको बताए ।
२० हजार जरिवाना
यता बढी मूल्य असुल्ने पसल पुगेका उनै कर्मचारीको टोलीले मंगलबार नै पसलका सञ्चालक अधिकारीलाई २० हजार जरिवाना गरी तारेखमा राखिएको बताएका छन् । त्यस्तै सोही टोलीले मंगलबार बन्द गरेको पसल बुधबार नै खोल्ने अनुमति समेत दिएको छ । बुधबार नै २४ प्याकेट अवैध भारतीय रजनीगंधा लगायतका सामग्री बरामद गरिएको घरेलु कार्यालय झापाले जनाएको छ ।
कालोबजारीको सूचना दिने पीडितलाई संरक्षण गर्नुपर्नेमा सम्बन्धित कर्मचारीले कालाबजारी गर्नेसँगै मिलेमतोगरी सूचकको मनोबल घटाउँदा कालोबजारी गर्नेहरुले थप प्रश्रय पाएका छन् । संकटका बेला व्यापारीले मनोमानी मूल्य बढाई कालोबजारी गरिरहेको भए पनि औपचारिकताका लागि मात्रै गरिने अनुगमन परिणममुखी हुन सकेको छैन ।
News24nepal  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता