नाकाबाट क्वारेन्टिन स्थलसम्म मान्छे ओसार्ने चालकको कोरोना लागेर मृत्यु

इलाम, ४ असारः  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे।
'उहाँको ८ बजेर ५२ मिनेटमा मृत्यु भएको हो। हामीले सेनालाई खबर गरिसकेका छौं। भोलि उहाँको शव व्यवस्थापन गर्ने तयारी छ,' श्रेष्ठले भने।
गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो। सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो।
उनी पेसाले बस चालक हुन्। अस्पतालका अनुसार उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्याउने काम गरेका थिए।
सुरूआतमै उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएको र थप जटिल बन्दै गएपछि बुधबार अस्पतालले बिरामीलाई काठमाडौं रिफर गर्न प्रदेश सरकारलाई अनुरोध गरेको थियो।
बुधबारै कैलालीको लम्कीचुहा नगरपालिका-२ निवासी एक महिलामा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचार क्रममा बिहान ११ बजे मृत्यु भएको उनको साँझ रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए।
न्यूरोसम्बन्धी समस्या रहेको उनलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।
बुधबारै अर्घाखाँचीका एक पुरूष र सुर्खेतकी एक महिलामा पनि आत्महत्यापछि कोरोना पुष्टि भएको छ। उनीहरूलाई कोरोनाबाट मृत्यु भएको संख्यामा समावेश गर्ने वा नगर्नेबारे स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ।
सेताेपाटीबाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता