विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ४ लाख नाघ्यो, झण्डै ८४ लाख संक्रमित


काठमाडौँ, ४ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे ४ लाख नाघेको छ । बिहीबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ४ लाख ५१ हजार २६६ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो समय विश्वमा सङ्क्रमित दर बढिरहेसँगै निको हुने दर पनि बढिरहेको छ । तर मृत्यु हुने संख्यामा उल्लेख्य कमी आउन सकेको छैन ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ८३ लाख ९८ हजार नाघेको छ । बुधबार मात्रै विश्वभर १ लाख ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी बुधबार विश्वभर एक दिनमा ५ हजार २६४ जनाले ज्यान गुमाएका छन् ।
तर मृत्यु हुनेको तुलनामा निको हुने दर तीव्र रूपले बढिरहेको छ । विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५१ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । बुधबार मात्रै विश्वभर १ लाख ८ हजारभन्दा बढी मानिस संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४४ लाख १४ हजार नाघेको छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २२ लाख ३४ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ९ लाख १८ हजारभन्दा बढी निको भइसकेका छन् । तर १ लाख १९ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
उता ब्राजिलमा ९ लाख ६० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकोमा ५ लाख ३ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकापछि दोस्रो बढी रहेको छ । त्यहाँ अहिलेसम्म ४६ हजार हजार ६६५ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी रूस र भारतमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर त्यहाँ मृत्युदर कम र निको हुने दर बढी छ । रूसमा अहिलेसम्म ५ लाख ५३ हजारभन्दा बढी मानिसमा संक्रमण फैलिएकोमा ३ लाख ४ हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ कोरोनाबाट अहिलेसम्म ७ हजार ४७८ को मृत्यु भइसकेको छ ।
भारतमा पनि ३ लाख ६७ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा १ लाख ९४ हजारभन्दा बढी निको भइसकेका छन् । तर भारतमा अहिलेसम्म कोरोनाबाट १२ हजार २६२ को मृत्यु भइसकेको छ ।
उता बेलायतमा अहिलेसम्म २ लाख ९९ हजार ५२१ जनामा कोरोना संक्रमण देखिएकोमा ४२ हजार १५३ जनाको मृत्यु भइसकेको छ । त्यहाँ निको हुनेको संख्या देखाइएको छैन । त्यसपछि विश्वमा बढी मृत्यु देशमा इटाली र स्पेन रहेका छन् । इटालीमा हालसम्म कोरोना संक्रमणका कारण ३४ हजार ३४८ को मृत्यु भएको छ भने स्पेनमा २७ हजार १३६ को ज्यान गएको छ । स्पेनमा भने पछिल्लो समय नयाँ मृत्युका घटना देखिएका छैनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता