बाल मनोबैज्ञानिक लघुकथा:-शुशी



  • कोषवल्लभ रेग्मी 


  "बाबा मामु कहिले आउनुहुन्छ?मामुलाई गाडीमा चडाएर कता लानु'भाको? म पनि मामु सँग जाने न बाबा!!"
  उसकी आमाले यो लोक छाडेको दिनदेखि शुशीले मलाई माथिका अनेकन प्रश्न सोधेर हैरान पार्न थाली।हैरान मात्र होइन उसका हृदय बिदारक र कारुणिक प्रश्नहरुले मलाई पनि भावविह्वल बनाई रयो।
   "बाबा भन्नू न!मामु कहिले आउनुहुन्छ ले?"-म केके सोच्दै घोत्लिरहेको थिएँ।एकाएक ऊ आएर फेरि उही घाउ कोट्याउन थाली।
   "अब भोलि पर्सि मामुको सराद्धे आउँछ अनि त्यही दिन आउनुहुन्छ मामु नानू!ऐले चुप लागेर बस है।"-मलाई के मन आयो र प्याच्च भनी दिएँ।
   "बाबा अनि मामु सधैं मसँगै बत्नु हुन्छ हो?"-
   उसको प्रश्नले म केही भन्न खोजेर पनि भन्न सक्ने अवस्थामा थिइन।
    "बोल्नु न बाबा!अनि अनि म मामुसँगै सुत्न पाउँछु हो?"-फेरि उसले उही कुरा कोट्याई।
   म बोल्न सकिन गला अवरुद्ध भयो र टाउको मात्र हल्लाएँ।म आफैँ पछुताएँ मैले फेरि ऊ सँग नबोल्ने कुरा बोलेँछु।
   छोराको ब्रतवन्ध भएकोले ऊ उसकी आमाको श्राद्ध गर्न बसेको थियो।म बाहिर यताउता गर्दै थिएँ।यतिकैमा अलि पर बाटो छेउको डिलमा बसेर शुशी रोदन युक्त स्वरमा कराई रहेकी थिई-"मामु छिटो आउनु न भनेको।दादाले तपाईंको सराद्धे गर्न थालिथक्नु भयो त!किन ढिलो गल्नुभा'को मामु?मेलो माया लाग्दैन.....!!!"
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता