बालीनाशक सलह कीरा भारतबाट नेपाल प्रवेश, बारालगायत तीन जिल्लामा भेटियाे


काठमाडौं, १३ असार । तत्कालका लागि संकट टरेकाे भनिएको सलह कीरा नेपालमा प्रवेश गरेकाे देखिएकाे छ । तराइका सीमावर्ती ३ जिल्लामा उक्त कीरा प्रवेश गरेकाे किसानहरूले बताएका छन् ।
कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार शनिबार आज बिहान भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो । यसअघि भारतमा सलह कीरा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्काललाइ टरेको बताइएको थियो । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा  बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको केन्द्रले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले नेपाल प्रवेश गरेको सहलबारे अनुसन्धान गरिने बताएको छ । नेपालमा कति संख्यामा प्रवेश गरे र कुन प्रजातीको सलह हो भन्नेबारेमा अनुशन्धान गर्न विज्ञहरु समेत पठाइएको बताएको छ । भारतबाट विहान ८ बजेतीर प्रवेश गरेका ती सलहहरु रुखहरुमा बसेको बताइएको छ ।
बारामा यस्ताे देखियाे
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किराजस्तै देखिने फट्याङ्ग्राको एक प्रजाति बारामा फेला परेको छ ।
लाखौंको संख्यामा रहने र हरिया बनस्पति सखाप पार्ने उक्त प्रजाति बारामा फेला परेको कृषि ज्ञान केन्द्र बारा प्रमुख जितेन्द्र यादवले समेत बतााए । संघ सरकार अन्तरगतको कृषि मन्त्रालय प्रकोप समितिका संयोजक सहदेव हुमागाईले यसको पुष्टि गरेको उनले जानकारी दिए ।
बारामा भेटिएकाे सलह
किसानहरुले ठुलो संख्यामा कीराहरु देखेको गुनासो गरेपछि ज्ञान केन्द्रका प्रमुख यादवले उक्त प्रजातिको तस्वीरसहित प्रकोप समितिमा जानकारी गराएका थिए । तस्वीरका आधारमा बारामा भेटिएको फट्याङ्ग्रा सलह नै भए पनि कुन प्रजातिको हो भन्ने यकीन भइनसकेको ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।
हाल जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका तथा निजगढ नगरपालिकाका किसानले यस्तो प्रजाति देखिएको बताएका छन् । नेपालमा यो कीराले बाली नाली नष्ट गर्ने भए पनि यसको उत्पादन र वृद्धि हुने संभावना कम रहेको ज्ञान केन्द्र प्रमुख यादवको भनाई छ । यो किराको उत्पादन र वृद्धि मरुभुमिमा हुने भएकाले नेपालमा प्रभाव लामो समय नरहने आँकलन गरिएको उनले बताए ।
सलहको प्रकोप देखिएका स्थानमा कुनै पनि किरा मार्ने औषधी प्रयोग गर्न सकिने यादवको भनाई छ । यद्यपि कीरा अग्लो स्थान रुखहरुमा बस्ने भएकाले हेलिकप्टर वा ड्रोनको प्रयोगबाट मात्रै औषधि छर्न सकिन्छ । यसका अलवा पनि ठुलो आवाजको सहयोगमा पनि कीरा धपाउन सकिने उनले बताए ।
२ महिनाअघि अफ्रिकाबाट भारतसम्म छिरेका सलहको हुलगर्ने नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । अब सोही कार्यदलले यसको अनुशन्धान गर्नेछ । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।
न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता