विराटनगरको वेवास्ता : अस्पताल डुलाउँदा डुलाउँदै उदयपुरका एक विरामीको एम्बुलेन्समै मृत्यु


विराटनगर, ९ साउन । विराटनगरका अस्पतालहरुले भर्ना नलिदा उदयपुरबाट आएका एक युवाको एम्बुलेन्समै मृत्यु भएको छ ।
उदयपुर कटारी नगरपालिका ५ का ३३ बर्षीय पदम राई शुक्रबार उपचारकालागि विराटनगर आएका थिए । उनको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको हो ।
उनलाई सुरुमा विराटनगर स्थित नोवेल शिक्षण अस्पताल लगिएको थियो ।

नोवेल अस्पतालले भर्ना लिन नमाने पछि कोशी अस्पताल ल्याइएको थियो तर कोशी अस्पतालले पनि भर्ना गर्न वेवास्ता गरेका कारण एम्बुलेन्समै पदमको मृत्यु भएको उनकी श्रीमति कमलाले बताइन । विरामी पदम राईको नोवेल शिक्षण अस्पतालले कोरोना संक्रमण नभएको पुष्टि खोजेको थियो ।
शुक्रबार दिउसो नोवेल शिक्षण अस्पताल पुगेका पदमलाई श्वासप्रश्वासमा समस्या देखिएकाले नोवेल अस्पतालको इमरजेन्सीबाट एम्बुलेन्स सम्म ल्याएको स्टे«चर फिर्ता लगेको थियो ।
त्यसपछि उनलाई कोशी अस्पताल लगिएको थियो । कोशीको आकस्मिक कक्षमा भर्ना लिन खोजिएको तर श्वासप्रस्वासमा समस्या भएको थाहा पाएपछि स्टे«चरमा राखिएको विरामीलाई भर्ना नगर्दा र उपचार नपाएका कारण उनको मृत्यु भएको श्रीमति कमलाले बताइन् ।
उदयपुरबाट श्रीमति कमला र बहिनी चमेलीले विराटनगरको नोबेल मेडिकल कलेजमा लगेका थिए । सामान्य अवस्थामा नोबेल पुगेका युवकलाई नोबेलले भर्ना गर्न मानेन् ।
एम्बुलेन्स चालक सुवास तामाङका अनुसार नोबेलले फिर्ता पठाएपछि कोशीमा ल्याए । तर कोशीमा पनि उस्तै अवस्था भयो । ‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भए पनि बिरामीलाई अस्पतालले लिनै मानेन ।’
बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए ।
कोरोनाको शंकास्पद भन्दै कोसीका चिकित्सकले पनि भर्ना लिन मानेनन् । कोशीमा पुगेर एम्बुलेन्समा राखेको करिब एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु भयो ।
स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको थियो ।

मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो । ‘ चिकित्सकले भर्ना नगर्दा बिरामीको एम्बुलेन्समै मृत्यु भयो,’ आफन्त रोमा गोलेले भनिन्, ‘ अस्पतालले लापरवाही गरेको छ ।’
पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए । एम्बुलेन्सभित्रै बेहोस भए पनि अस्पतालले वास्ता गरेन ।
अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ ।
शुक्रबार बेलुका मात्र पदमको शव स्वाब संकलनका लागि भित्र लगेको थियो । कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए ।
अवस्था गम्भीर भएकाले धरान लैजान सुझाव दिएको बताउँदै उनले एम्बुलेन्समा मृत्यु भएको बताए ।
न्युज२४ नेपालबाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता