सनातन धर्म, संस्कृतिको रक्षा गर्नु बिश्व हिन्दु महासङ्घको लक्ष्य


काठमाडौँ, ९ साउन : विश्व हिन्दू महासङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा रामचन्द्र अधिकारी तथा पूर्व राज्यमन्त्री रामचन्द्र अधिकारीले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरुलाई एकतावद्ध गराउनु र सनातन धर्म संस्कृतिको रक्षा गर्नु नै महासङ्घको लक्ष्य रहेको बताउनुभएको छ । आज यहाँ आयोजित टोखा नगरपालिकास्तरीय धार्मिक भेलामा उहाँले महासङ्घको कुनै राजनीतिक पार्टीका भातृ संस्था नभएर ओमकार परिवारमा आवद्ध सम्पूर्ण नेपालीको साझा धार्मिक थलो भएकाले यसलाई विस्तार गर्दै लगिनेछ भन्नुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वैदिक हिन्दू सनातन धर्मको संरक्षणमा महासङ्घको भूमिका नेतृत्वदायी रहेको उल्लेख गर्दै मुलुकलाई हिन्दू राज्य बनाउन सम्पूर्ण ओमकार परिवार एकजुट हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका सल्लाहकार विष्णुप्रसाद धितालले देशका प्रमुख राजनीतिक दलहरुले नेपाललाई हिन्दू राज्य बनाउन सामूहिक पहल गर्नुपर्ने धारणा राख्नुभयो । महासङ्घका युवा विभागका संयोजक ऋषिकेश जङ्ग शाहले सनातन हिन्दू धर्मलाई आर्थिक पक्षबाट पनि हेरिनुपर्ने र त्यसअनुसार शिक्षा नीति बन्नुपर्नेमा जोड दिनुभयो । 

महासङ्घका उपाध्यक्ष प्रवीण घिमिरेले हाल देशका ६९ जिल्लामा महासङ्घको सङ्गठन विस्तार भैसकेको र अन्य जिल्लामा पनि क्रमशः विस्तार गर्दै स्थनीय तहसम्म पुर्याइने बताउनुभयो । भेलाले कृष्णविलास अधिकारीको अध्यक्षतामा २५ सदस्यीय महासङ्घको टोखा नगर समितिको गठन गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता