कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु


काठमाडौं, ७ साउन । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज महोत्तरी एक जना र शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको मृत्युभएसँगै मृतकको संख्या ४२ पुगेको हो ।
महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको छ ।
गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको छ । यता, नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । कोरोनाबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।
मुटुसम्बन्धी रोगी ती महिला साउन २ गते धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल सारिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।
अहिले ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा रहेको र नेपालस्थित चिनिया दूतावासको सहकार्यमा शव व्यवस्थापनको काम भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता