लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’


काठमाडौँ, २८ साउन ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।

यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाएजति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षणसमेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए :

‘मलाई कोरोना लागेको शनिबार राति ११ बजे थाहा पाएँ । अफिसले शुक्रबार मसहित अरु साथीहरुको निजी प्रयोगशालालाई पैसा तिरेर कोरोना परीक्षण गराएको थियो । मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । संक्रमण तीव्र भएसँगै यताउता जाँदा पनि निकै सावधानी अपनाउँथें । कहाँबाट सर्‍यो थाहै छैन ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।

फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो

ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन

आइतबार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment