प्रकृतिको पूजा गरी उधौली पर्व मनाइँदै, कुलुङ समुदायकाे ‘चाक्चाकुर’ र नेवार समुदायकाे योमरी पुन्ही


काठमाडाैं, १५ पुष । प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको ठूलो चाड उधौली पर्व मनाइँदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउन गर्दछन् ।

घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृतिपूजक किरात राईले मंसिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गरेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् ।

आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताउनुभयो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

 कुलुङ समुदायकाे चाक्चाकुर

कुलुङ समुदायले पनि आजै मिनारी दाचाम् निङदोङ ‘चाक्चाकुर’ चाड मनाउँदै छन् । याे पनि उनीहरुकाे नयाँ वर्षकाे रुपमा मनाइने एक मुख्य चाड हाे । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले भन्ने हुन्छ ।

यसैगरी दाचामकाे अर्थ भण्डार वा ढुकुटी हो र निङदोङकाे अर्थ ‘नयाँ वर्ष’ भन्ने हाे । यसरी सुरु हुने नयाँ वर्षलाई ‘येले सम्वत’ पनि भन्ने गर्छन् । ‘चाक्चाकुर’ले चासुम् अर्थात् अन्नको सह तथा पुस महिनालाई जनाउँछ ।

यसरी मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो ।

वर्षभर लगाइएको खेतीपाती पुस (कुलुङ महिना चाक्चाकुर) लाग्दा उठाइ सकिएको हुने र किसान फुर्सदिला हुने भएकाले याे चाड पुस १५ मै पारेर मनाउने गरिन्छ । सूर्यकाे उत्तरायण गति सुरु भएसँगै यसैदिनबाट अघिल्लो वर्ष सकिएको र नयाँवर्ष सुरु भएको याे समुदायले मान्ने गर्छन् ।

नेवार समुदायले योमरी पुन्ही मनाउँदैछ

यता नेवारसमुदायले आजै योमरी पुन्ही हर्साेल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ ।

सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रूपमा पनि लिने गरिएको छ । त्यसैगरि आज धान्यपूर्णिमा पनि भनिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता