मेचीनगरमा सुकुम्बासी बस्तीमै ‘सपिङ्ग कम्प्लेक्स’ निर्माण, सुकुम्बासीमा उठिबास हुने भय


झापा, १९ पुस । झापाको मेचीनगर–६ काँकडभिट्टास्थित गोसलाइन क्षेत्रको जमिनमा नगरपालिकाले ‘सपिङ्ग कम्प्लेक्स’ निर्माण गर्ने भएपछि बर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी चिन्तित बनेका छन् । नगरपालिकाले कुनै व्यवस्थापन नगरि आफुहरुलाई उठिबास लगाउन लागेको भयले स्थानीय दिनरात पिरोलिन थालेका हुन् ।

काँकडभिट्टाको बजार क्षेत्रभित्र रहेको गोसलाइन आसपासमा वि.सं.२०५२ सालपछि बस्ती बसेको थियो । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको २ कठ्ठा ९ धुर जमिनमा १४ परिवारको बसोबास रहेको थियो ।

अहिले आएर नगरपालिकाले सो जमिनमा सुविधा सम्पन्न ‘सपिङ्ग कम्प्लेक्स’ निर्माणको योजना अघि सारेको छ । २०७४ साल पुस १२ गते आगलागी हुँदा घरटहरा गुमाएका भूमिहीन सुकुम्बासीले जेनदेन छाप्रो बनाएर जीविकोपार्जन गर्दैै आएका थिए । तर नगरपालिकाले कुनै व्यवस्था नगरि उठाउने हल्लाले भने स्थानीय सुकुम्बासी चिन्तामा छन् ।

‘२० वर्ष भन्दा बढी भयो यहाँ बसेको, पहिला बस्दा केही थिएन’ स्थानीय दिलमाया राईले भन्नुभयो, ‘अब यहाँबाट उठाउछन् भन्छन्, चिन्ताले रातभरी निन्द्रा लाग्दैन, हामी कहाँ जानु ?’ नगरपालिकाका अनुसार नगरले ‘सपिङ्ग कम्प्लेक्स’ निर्माणका लागि ९० लाख रुपैयाँ विनियोजन गरि ठेक्का प्रक्रिया समेत अघि बढाइसकेको छ ।

 स्थानीय १० परिवार सुकुम्बासी रहेकाले उनीहरुको व्यवस्थापन जनताआवस कार्यक्रममार्फत गरिने मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले बताउनुभयो ।

‘केही घर सकुम्बासी नै हुनुहुन्छ’ वडाध्यक्ष तामाङ्गले भन्नुभयो, ‘उहाँहरुको व्यवस्थापन बारे सोचेकै छौँ, कम्प्लेक्समा सटरहरु भाडामा लाउदा उहाँहरुलाई नै प्राथमिकता दिन्छौँ ।’ बर्षौंंदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीको दिगो व्यवस्थापन गर्न सकेमात्र निर्माण कार्यले गति लिने देखिन्छ ।

जसका लागि मेचीनगर नगरपालिकाले बेलैमा त्यसतर्फ ध्यान दिन आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment