कचौरा जस्तो काठमाडौं विश्वकै प्रदुषित शहरको पहिलो नम्बरमा उक्लियो


काठमाडौं, २१ पुष । लकडाउनको समयमा छर्लङ्ग खुलेको काठमाडौं लकडाउन हटेको केही महिनापछि नै विश्वकै सर्वाधिक प्रदुषित शहरमा उभिएको छ । विश्वका ५० शहरहरुमध्ये प्रदूषणका हिसाबले काठमाडौं उपत्यका नम्बर १ मा रहेको देखिएको छ ।

आईक्यू एअरका अनुसार काठमाडौं उपत्यकाको वायुमण्डलमा मंगलबार (आज) बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । सोमबार (हिजो)देखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको हो ।

त्यस्तै, प्रदूषणका हिसाबले दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोई रहेका छन् । यसरी काडमाडौं उपत्यकामा वायु प्रदुषण ह्वात्तै बढेपछि यहाँका बासिन्दाहरुले असहज महसुस गरिरहेका छन् ।

अहिले काठमाडौं उपत्यकामा चिसोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधिहरु पनि बढेका छन् । उपत्यकामा वायु प्रदूषणका स्रोतहरु बढेका तर, प्रदूषण कहीँ जान नपाएको वातावविद्हरुको भनाइ छ । जाडो मौसम (हिउँद)मा वायु प्रदूषण वर्षायाममा भन्दा ४÷५ गुणा बढी हुने विज्ञहरुको भनाइ छ ।

वायु प्रदूषण जाडो याममा बिहान ८ देखि १० बजेसम्ममा बढी हुने भएको पानी नपर्ने र हावासमेत नचल्ने भएकाले प्रदूषण बढेको बताइएको छ । काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुने विज्ञहरुको भनाइ छ ।

यसरी वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोरोना भाइरस संक्रमण बढी हुने पनि अध्ययनले देखाएको छ । यता वातावरण विभागका उपप्रमुख इन्द्रविक्रम जोशीका अनुसार गत बर्षको तुलनामा यसपटक काठमाडौंमा वायु प्रदुषणको स्तर ह्वात्तै बढेको छ । तर यो काठमाडौ उपत्यकामा मात्र नभएर समग्र नेपालमा नै वायु प्रदुषण उच्च देखिएको छ ।

दिउँसो मापन गरिएको वायुको गुणस्तर सूचकांक अनुसार सबैभन्दा बढी विराटगरको ३ सय ८० पुगेको थियो भने काठमाडौंको रत्नपार्क सबभन्दा प्रद्ुषित रहेको थियो । रत्नपार्कको वायु प्रदुषणको स्तर ३ सय ३८ रहेको थियो । यस्तै जनकपुरको १ यस ७८ रहेको थियो । वायुको गुणस्तर सचकांक ४० उत्तम मानिन्छ । यस अर्थमा नेपालमा महेन्द्रनगरको ४७ रहदा उस्ले मात्र हरियो संकेत पाएको छ भने नेपालका अधिकांश सबै शहरहरु वायु प्रदुषण स्तर रातो देखाएको छ ।

अमेरिकाको हार्वड युनिभर्सिटीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार कोरोनाबाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको निष्कर्ष निकालेको छ । नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको ‘स्टेट अफ ग्लोबल एयर-२०२०’ले जनाएको छ ।

त्यसोत, सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा करिब ३७ हजारको मृत्यु भएको डब्लूएचओले पनि जनाएको थियो । विशेष गरी वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर, मुटुको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिनेलगायतका समस्या हुन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment