सिक्किममा चीन र भारतका सैनिकबीच फेरि झडप, २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

सिक्किम  , १२ माघ । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

इन्डिया टुडेलेका अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोक्दा झडप भएको हो । यस विषयमा भारत र चीन दुवैले औपचारिक रुपमा केही जानकारी गराएका छैनन् ।

फाइल तस्वीर

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो । आइतबार मात्र भारत र चीनका सेनाबीच नवौं चरणको वार्ता भएको थियो ।

यसअघि सन २०२० मेमा पनि नाकुला क्षेत्रमा चीन र भारतको सैनिकबीच हात हालाहाल भएको थियो । त्यसबेला सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएका थिए ।

पछिल्लो समय सीमा क्षेत्रमा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन् । गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन । पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो ।

सीमाका विषयमा भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment